दर्जन वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने, पुँजी कोष सीमामा पुर्याउनै सकस
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आवभित्रै ९ प्रतिशतको प्राथमिक पुँजीकोष (टायर वान) कायम गर्नु पर्ने भएको छ । जसको कारण एक दर्जन बैंकहरुको लाभांश वितरण प्रभावित हुने देखिएको छ ।
यसअघि ८.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था थियो। राष्ट्र बैंकको निर्देशिका अनुसार आगामी असारभित्र ९ प्रतिशत कायम गर्नु पर्ने भएको हो।
अब असार आउन ९ महिनामात्रै बाँकी छ। सो अवधिमा बैंकहरूले प्राथमिक पुँजी कोष ९ प्रतिशत कायम गरिसक्नु पर्नेछ। असारसम्म ९ प्रतिशतको पुँजी कोष कायम गर्न नसकेमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउनेछ।
राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरिसकेको अवस्थामा बैंकहरूले अब ९ प्रतिशतको प्राथमिक पुँजी कोष मेन्टेन गर्न लाग्नु पर्ने छ । असारसम्म सबै बैंकको क्यापिटल रेसियो ९ प्रतिशत हुनु पर्ने बैंकले जनाएको छ । ९ प्रतिशत कायम नभएको खण्डमा बैंकहरूले यस वर्षको लाभांश वितरण गर्न नपाउने भएका छन् ।
क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्न नसक्ने वाणिज्य बैंकले लाभांश वितरण गर्न नपाउने व्यवस्था छ।
असार मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्र बैंकको यो व्यवस्थाले सबैभन्दा बढी कुमारी बैंक, प्रभु र माछापुच्छ्रे बैंकलाई प्रभाव पर्ने देखिन्छ ।
कुमारी बैंकको प्राथमिक पुँजी कोष ८.८३ प्रतिशत, प्रभु बैंकको ८.९१ र माछापुच्छ्रे बैंक ९.०२ प्रतिशत छ ।
सिद्धार्थ, एनआईसी एशिया र हिमालयन बैंकको प्राथमिक पुँजी कोष पनि ९ प्रतिशतको हाराहारीमा छ । गत असार मसान्तमसम्मको तथ्यांक अनुसार यी बैंकहरुको पुँजी कोष क्रमशः ९.४४ प्रतिशत, ९.५२ प्रतिशत र ९.९६ प्रतिशत छ ।
त्यस्तै, सानिमा, सिटिजन्स, एनएमबि, नेपाल एसबिआई, नबिल र ग्लोबल आईएमई र लक्ष्मी सनराइज बैंक १० प्रतिशत प्राथमिक पुँजी कोषको हाराहारीमा छन् । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म सानिमाको १०.०८ प्रतिशत, सिटिजन्सको १०.१४, एनएमबिको १०.२६, नेपाल एसबिआईको १०.३१, नबिलको १०.४६ र ग्लोबल आईएमईको १०.९४ प्रतिशत छ भने लक्षी सनराइज र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि १० प्रतिशतको हाराहारीमा छ ।
एभरेष्ट, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक भने सहज अवस्थामा छन् । असार मसान्तसम्मको तथ्यांक अनुसार यी बैंकहरुको प्राथमिक पुँजी कोष क्रमशः ११.२३ प्रतिशत, ११.२६, १४.४२ र ११ प्रतिशत र ११.३५ प्रतिशत प्राथमिक पुँजी कोष रहेको छ ।