एशियन लाइफले यति एयरलाइन्सको पौने २ अर्बको शेयर किन्दै, प्रतिकित्ता १७० रुपैयाँ

रिना खत्री
१२ आश्विन २०८०, शुक्रबार १३:०४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्सको शेयर खरिद गर्ने अनुमति दिएको छ।प्राधिकरणले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत शेयर जारी गर्न अनुमति दिएको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।

लगानी निर्देशिका अन्तर्गत हामीले एशियन लाइफलाई यति एयरलाइन्सको शेयर खरिद गर्ने अनुमति दिएका हौ, यति एयरको डीडीए गर्दा प्रतिकित्ता मूल्य १८० माथि देखिएको र प्राधिकरणले प्रतिकित्ता १७० रुपैयाँसम्ममा सेयर किन्न अनुमति अध्यक्ष सिलवालले बताए ।

कम्पनीले यतिमा ५० प्रतिशतभन्दा कम सेयर हिस्सामा लगानी गर्ने भनेर स्वीकृति माग गरेको थियो । प्राधिकरणले भने एयरको ४९ प्रतिशत शेयर जारी गर्न अनुमति दिएको छ ।

एशियन लाइफको सूचना अधिकारी होम बहादुर श्रेष्ठले लगानी निर्देशिका अन्तर्गत रहेर यती एयरलाईन्सको शेयर किन्न लागिएको जनाएको छ।एयरलाईन्सले आफनो शेयर बिक्री गर्न ५० प्रतिशत शेयर बिक्री गर्न एसियन लाईफसँग आन्तरिक रुपमा सहमति गरेर प्राधिकरणसँग अनुमति माग गरेको थियो । प्राधिकरणले लगानी निर्देशिका अन्तर्गत यति होल्डिङ्सले यति एयरलाईन्सको ४९ प्रतिशत सेयर एशियन लाइफलाई बिक्री गर्ने आन्तरिक सहमति भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । सो सेयरमध्ये ४९ प्रतिशत सेयर प्रिमियम मूल्यमा कम्पनीले खरिद गर्नेछ।उक्त सेयर प्रतिकित्ता थप ७० रुपैयाँ प्रिमियम थप गरी १७० रुपैयाँमा खरिदबिक्री गर्न दुबै पक्षबीच सहमती भएको यती एयरलायन्सले जनाएको छ ।

जसअनुसार एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत सेयरको खरिद गर्नेछ ।कम्पनीको सुरुआत लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले गरेका थिए। लाक्पा सोनाम शेर्पा कम्पनीको अध्यक्ष हुन् भने आङछिरिङकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक हुन्।

आङछिरिङको निधनपछि पारिवारिक रुपमा पनि केही समस्या देखिएको स्रोतहरुको दाबी छ।

कम्पनीको पछिल्लो क्रेडिट रेटिङ अनुसार सन् २०२१/२२ को नौ महिनामा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले त्यो समयमा पाँचवटा एटीआर ७२–५०० जहाजको हवाई सेवाबाट यो रकम बराबरको कारोबार भएको थियो। २०२१ मा कम्पनीले १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।

२०२० मा कम्पनीले २ अर्ब ६६ करोड, २०१९ मा ३ अर्ब ४३ करोड र २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। आङछिरिङको निधन २०७५ फागुनमा भएको थियो। उनको निधनपछि नै यतीको कारोबारमा निरन्तर गिरावट छ। यद्यपि यो बीचमा कोभिड–१९ को महामारी पनि सुरु भएको थियो। महामारी हटेपछि पनि हवाई सेवा व्यापारमा केही सुधार भए पनि यतीको कारोबार पुरानै लयमा भने फर्किन सकेको थिएन।

क्रेडिट रेटिङ इक्रा नेपालका अनुसार दुई वर्षअघि यतीको हवाई बजारमा हिस्सा २५ प्रतिशत थियो। त्यसयताको तथ्यांक भने सार्वजनिक भएको छैन।

एयरलाइन्स ऋणले थलिँदै गएको छ। घट्दो व्यापार र बढ्दो ब्याजको भारीका कारण समस्यातिर यती एयरलाइन्स गएको छ। उसलाई ऋण घटाउन पनि बैंकहरुले ताकेता गरिरहेका छन्।आधा दर्जन बैंकको सहवित्तीयकरणमा करिब ६ अर्ब रुपैयाँ हाराहारी ऋण छ। यसबाहेक विभिन्न परियोजनका लागि समूहले छुट्टाछुट्टै बैंकबाट पनि ऋण लिएको छ।

गत माघमा ७२ सिट क्षमताको एटीआर विमान पोखरामा दुर्घटना भएपछि यती एयरलाइन्सको व्यापार निरन्तर घटिरहेको छ।त्यो दुर्घटनाले यतीको समग्र हवाई सेवा व्यवसाय प्रभावित भएको थियो।

अझै व्यापार लयमा फर्किसकेको छैन। अन्य विमानहरुको व्यापारमा पनि कमी आएको कम्पनीको वित्तीय तथ्यांकले देखाउँछ।यती एयरलाइन्सको सेयर बिक्री (डाइभेस्ट) का लागि समूहले बैंकहरुसँग पनि कुराकानी गरेको थियो। यतीका सञ्चालक सोनमका नजिकका केही व्यवसायीले पनि सम्भावित खरिदकर्ताहरुसँग कुराकानी गरिदिएका थिए। तर बैंकहरुसँग पनि कुरा नमिलेपछि अन्त्यमा एशियन लाइफसँग साझेदारी गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*