भारतीय नोट, राष्ट्र बैंकको नियतमा खोट् !

भारतीय ठूला नोट प्रतिबन्ध : ‘बलजफ्ती ठीक होइन’
१२ आश्विन २०८०, शुक्रबार ११:५०

काठमाडौं । एक सय रुपैयाँभन्दा ठूला दरका नोट साथमा राख्न वा बोक्न नपाइने भन्दै राष्ट्र बैंकले बेलाबेला झस्काउने गरेको छ । यो पल्ट दशैंको मुखैमा झस्काएपछि आम जनसाधारण र यस मामिलाका जानकारहरु राष्ट्र बैंकसँग रिसाएका छन् ।

राष्ट्र बैंकले एक सय दरभन्दा ठूलो दरका भारतीय रुपैयाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध गरिएको सूचना पुनः जारी गरेपछि आम जनसाधारण रिसाएका हुन् ।

भारतबाट नेपाल आउँदा तथा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिने उर्दी राष्ट्र बैङ्कले गरेको छ । यो भन्दा बढी रकम भए भन्सारमा घोषणा गर्नुपर्ने नियम छ ।

यस्तै, भारत भ्रमण गर्न जाने नेपालीले भारु २५ हजारसम्म र औषधोपचारका लागि भारतीय अस्पताल पुग्नेहरुले नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्ने कुरा सूचनामा उल्लेख छ ।

यो परिमाणको रकम राष्ट्र बैंक तथा मनी चेन्जरबाट समेत साँट्न पाइने व्यवस्था गरिएको छ । ड्राफ्ट, टिटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागु नहुने भनिएको छ ।

पटक-पटक उर्दी किन ?

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोख्रेलका अनुसार नगद बोक्ने परिपाटीलाई निरुत्साहन गर्न र विद्युतीय झुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न यो सूचना रिले गर्ने गरिएको छ । उनी भन्छन्, ‘यो नयाँ निर्णय वा नयाँ नियम ल्याइएको होइन । पहिल्यै भए गरेका फाइनान्सियल निर्णयहरुलाई रिमाइण्ड गर्न यो सूचना बेला बखत जारी गर्ने गरिन्छ । नगद बोकेर हिँड्ने परम्परा तोड्नै पर्ने हुन्छ ।’

भारत घुम्न जाने नेपालीले पाँच सय वा एक हजार दरका भारु नोट नगदै बोक्ने हो भने २५ हजार भारुको मात्रै ५ गड्डी बोक्नु पर्ने हुन्छ, उनले अगाडि भने, ‘भारतले नै नेपाल र भुटानमा ठूला नोटमा प्रतिबन्ध गर्नु भन्ने सर्कुलर गरेको हो । हामीले कडाई गर्ने भन्दा पनि भारतले नै यसमा कडाई गरेको हो ।’

सहायक प्रवक्ता पोख्रेलका अनुसार अहिले भारु सञ्चिति लगायतका अन्य कुनै समस्या छैनन्, मात्र नगद बोक्ने प्रवृत्तिलाई निरुत्साहन गर्न यसो गरिएको हो । राष्ट्र बैंकसँग अहिले कुल मौज्दातको २२ प्रतिशत भारु सञ्चिति छ ।

उपचार गर्न जाने नागरिकलाई कष्ट

राष्ट्र बैंकले डिजिटल भक्तानीलाई जोड दिँदै गर्दा उपचारका लागि भारत जाने नागरिकलाई भने कष्ट भइरहेको छ । राष्ट्र बैंकले उपचारका लागि भारतीय अस्पताल पुग्ने नागरिकका लागि नगद ५० हजार भारु सटहीको मात्रै व्यवस्था गरेको छ ।

तर, अधिकांश भारतीय अस्पतालले अहिले पनि औषधि उपचार खर्च नगदमा लिने गरेका छन् । यसले जटिल प्रकारका रोगको उपचार गर्न जाने एवं जटिल शल्यक्रिया गर्नु पर्ने नागरिकहरु मर्कामा परेका छन् ।

राष्ट्र बैंकले विगतदेखि यस प्रकारको गल्ती गरिरहेको भन्दै अर्थशास्त्री एवं तत्कालीन सार्वजनिक खर्च पुनरावलोकन आयोगका संयोजक डा. डिल्लीराज खनाल रिसाए । उनले भने, ‘नागरिकले सेवा लिने ठाउँमा कस्ने र आयातलाई प्रोत्साहन गर्ने प्रवृत्ति हो । यस्तो प्रवृत्ति ठिक होइन । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने कुरा एक ठाउँमा छँदैछ । तर, अत्यावश्यकीय सेवा लिने सन्दर्भमा यस्तो सीमा जरुरी छैन ।

५० हजार भारु सटही गर्नलाई पनि अस्पताल वा चिकित्सकले रेफर गरेको कागजात पेश गर्नुपर्ने नियम छ । त्यसरी अत्यावश्यकीय सेवा लिन जानेलाई कडाई गर्न जरुरी छैन, डा. खनाले भने, ‘कडाई अन्य इम्पोटमा गर्नु पर्ने थियो । नागरिकलाई दुःख दिने यस्ता अचाहिँदा गतिविधि ठिक होइनन् ।’ नेपाल मै उपयुक्त उपचारको व्यवस्था गर्ने र भारत जानु नपर्ने परिप्रेक्ष्यबाट यस्तो गरिरहेको भए ठिक हो, नगद भुक्तानीलाई कस्ने मात्रै प्रयोजनले हो भने स्वास्थ्य उपचार जस्तो विषयमा यो नियत ठीक होइन, –डा खनालले भनेका छन् ।

फोर्सफूल हुनु हुँदैन : रुद्र शर्मा 

वाणिज्य कानूनका एकजना जानकार रुद्र शर्मा भन्छन्, ‘राष्ट्र बैंकले डिजिटाइजेशन गर्न गरेको प्रयत्न ठिक छ । तर, यो फोर्सफुल्ली हुनु हुँदैन । नागरिकलाई इन्सेन्टिभ दिएर डिजिटाइजेशन गर्ने कुरासम्म ठिकै हो । तर, औषधि उपचारकै लागि जानु परे पनि यस्तोविधि सटही सीमा राख्न जरुरी छैन ।’

शर्माका अनुसार राष्ट्र बैंकको यो नियम दशैं, तिहार जस्ता चाडका लागि अझ अव्यवहारिक छ । यस्तो बेला बढी नगद कारोबार हुने भए पनि राष्ट्र बैंकको यो नियम स्वयं कै लागि प्रत्युत्पादक हुनसक्छ ।

One thought on “भारतीय नोट, राष्ट्र बैंकको नियतमा खोट् !

  1. Rahul says:

    नेपाली ले नोट बन्दी गरे भने नेपाली ले दुख पाउछ । नेपाल जाने समान हरु अब सबै बन्देज गरिनेछ अब नेपालमा डलर चलाउनु र अमेरिका लाई बोड्रर बनाउनु नालायक सरकार नालिकोकिडे राष्ट्र बैंक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*