सूर्यज्योति लाइफको कर छलीको अनुसन्धानमा मध्यमस्तरीय कर कार्यालयको ढिलाई, अख्तियारकै निर्देशन लत्याइयो

११ आश्विन २०८०, बिहीबार १०:५७

काठमाडौं । सूर्यज्योति लाइफले करोडौं कर छलीको अनुसन्धान गर्न मध्यमस्तरीय करदाता कार्यालयले ढिलाई गरिरहेको भेटिएको छ । सो कम्पनीले कर छली गरेको सम्बन्धमा अख्तियारमा परेको उजुरीमाथि नेपाल बीमा प्राधिकरणले छानविन नै नगरी आयोगलाई पत्राचार गरेर जोगाउने प्रयास गरिएको थियो ।

सेटिङमा बीमा प्राधिकरणले सूर्यज्योति लाइफको कर छली काण्ड जोगाउन खोजेपनि सो विषय कर कार्यालयको नजरमा भने छानविनको दायरामा परिसकेको बुझिएको छ । बीमापोष्टलाई प्राप्त केही कागजातमा आव २०७७।०७८ को कर चुक्ता लिँदा हिसाब मिलान नगरी कर छली गरेर कर चुक्ता लिइएको तथ्य देखिएको छ । वर्षौदेखि कारोबार गर्दै आएको सूर्यज्योति लाइफले आव २०७७।०७८ मा दाखिला गर्नुपर्ने कर शून्य बनाएर हिसाब मिलान गरेको देखिएको छ ।

 

कम्पनी घाटामा रहेको भन्दै शून्य कर दाखिला गरेको थियो । तर, बीमापोष्टलाई प्राप्त विवरणमा उक्त तथ्य झूठो थियो । करदाता नं ३०२८३७१४४ नम्वरको प्यान नम्वर लिएर कारोबार गरेको सूर्यज्योति लाइफको कर छली र अख्तियारमा मुद्दा परेको सम्बन्धमा आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई समेत जानकारी गराउँदा समेत कारवाही प्रक्रियामा ढिलाई भएको गुनासो छ ।

 

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा भएको कर छलीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै निर्देशन समेत बीमा प्राधिकरणले कार्यान्वयन नगरी लत्याइएको पाइएको छ ।

 

 

कर्पोरेट सेक्टरमा सेटिङ र भ्रष्टाचार बढ्दो छ । अझ कर छली गर्ने अनेकन फण्डाहरु अपनाउने पब्लिक कम्पनीहरुका धन्दा नै बनिसकेको छ । देशकै प्रतिष्ठित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दिन दहाडै कर छली गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा प्राधिकरणलाई छानविन गरी कारवाही गर्न पटक पटक पत्र लेखे पनि लेनदेनमा सेटिङ गरिएको चर्चा बीमा क्षेत्रमा व्याप्त छ ।
राष्ट्रको ढुकुटी रित्तो छ, पब्लिक कम्पनीले दिन दहाडै कर छली गरिरहँदा समेत मध्यमस्तरीय कर कार्यालय के गरिरहेको छ ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*