एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर जारी गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ ।
नियुक्ति सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले हाल कायम १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा ६६% प्रतिशत अर्थात १०ः६.६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले नियामक नेपाल बिमा प्राधिकरणबाट हकप्रद शेयर निष्काशनको अनुमति पाइसकेको छ ।
यस्तै, कम्पनीले गत साउन १५ गतेको विशेष साधारण सभामार्फत हकप्रद शेयर प्रस्ताव पनि पारित गरिसकेको छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुग्नेछ ।