सगरमाथा लुम्बिनी इन्स्योरेन्सको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च, एउटै कम्पनीको बक्यौता ४ अर्ब ४४ करोडमाथि (अन्य कसको कति ?)

७ आश्विन २०८०, आईतवार ११:१७

काठमाडौं । नेपालमा सञ्चालित रहेका निर्जीवन बीमा कम्पनीहरुको बक्यौता दावी भुक्तानी २१ अर्ब रुपैयाँ ११ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्ममा १३ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल १ लाख १ हजार जना बीमितलाई बक्यौता दावी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

सो मध्य सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च रहेको देखिएको छ । सो कम्पनीबाट बीमितले कूल चार अर्ब ४४ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको देखिएको छ ।

तथ्यांक अनुसार साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स सबैभन्दा अगाडी रहेको छ । यस अवधिसम्ममा कम्पनीले १४ हजार ८१ जनाको ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको बक्यौता दावी भुक्तानी गर्न बाँकी रहेको छ ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बक्यौता दावी भुक्तानी दोस्रो स्थानमा रहेको छ । कम्पनीले असार मसान्तसम्ममा १२ हजार ८७९ जनाको दुुई अर्ब ६६ करोड रुपैयाँ बक्यौता दावी भुक्तानी दिन बाँकी रहेको छ ।

समीक्षा अवधिमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स बीमा दावी भुक्तानी दिन बाँकीको आधारमा तेस्रो स्थानमा रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ११ हजार ८२० जना बीमितलाई दुई अर्ब १५ करोड रुपैयाँ बराबरको बक्यौता दावी भुक्तानी दिन बाँकी रहेको छ ।

यसका साथै, हिमालयन एभरेष्टले ८ हजार ५३१ जना बीमितलाई कूल एक अर्ब ८९ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सले १२ हजार २८ जनालाई एक अर्ब ८८ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १४ हजार २३३ जनालाई एक अर्ब ७५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १० हजार ६१ जनालाई एक अर्ब ४३ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले पाँच हजार ३८९ जना बीमितलाई एक अर्ब २७ करोड रुपैयाँ बक्यौता दावी भुक्तानी दिन बाँकी रहेको प्रकाशित तथ्यांकले जनाएको छ ।

यसैगरी एनएलजी इन्स्योरेन्सले तीन हजार ९९२ जनालाई ८७ करोड ४८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले तीन हजार ८६९ जनालाई ८५ करोड ९२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले दुई हजार १५२ जना बीमितलाई ६९ करोड १० लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले एक हजार ४४९ जना बीमितलाई ५३ करोड २६ लाख रुपैयाँ र ओरियन्टल इन्स्योरेन्सले ९९२ जनालाई ५२ करोड ७ लाख रुपैयाँ बराबरको बक्यौता दावी रकम भुक्तानी दिन बाँकी रहेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा यस्तो दावी भुक्तानी उल्लेख गरेको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*