बीमा शुल्क लिने-दावी भुक्तानी नदिने सलिकोको कार्यशैलीले बदनाम बन्दै सिंगो निर्जीवन बीमा क्षेत्र

५ आश्विन २०८०, शुक्रबार ०९:१५

समाचार टिप्पणी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ब्राण्डिङ नाम हो सलिको । पुरानो सगरमाथा इन्स्योरेन्स कम्पनी सगरमाथाको बीमितलाई दावी भुक्तानी दिने छापबाट बच्न सलिको बनाए पनि पुरानै व्यवहार नछोडेपछि सलिको ब्राण्ड पनि बद्नाम बन्न थालेको छ । यहाँ कुरा सलिको ब्राण्डको बद्नाम मात्रै नभई सिंगो निर्जीवन बीमा क्षेत्र बद्नाम बन्नेतर्फ सबै सचेत हुनुपर्ने भएको छ ।

बीमितसँग बीमा शुल्क लिने तर बीमा दावी भुक्तानी गर्ने बेलामा बीमितलाई उल्टै धम्क्याउने, नदिन सर्भेयरसँग मिलेर विभिन्न कारण देखाउने पुरानै प्रवृत्ति सलिकोमा देखिन थालेका छ । जसका कारण सिंगो निर्जीवन बीमा क्षेत्र थप बद्नाम बन्ने जोखिम बढेको छ । बीमापोष्टलाई प्राप्त गुनासाहरुमा बीमा दावी भुक्तानीमा सलिकोले दावी भुक्तानी दिँदा सबैभन्दा धेरै झन्झट दिने र सकेसम्म दिन नचाहने कम्पनीको रुपमा चित्रण गरिएको पाइएको छ ।

बीमाको सिद्धान्त अनुसार बीमा शुल्क स्वीकार गरिसकेपछि जोखिम बहनबाट कुनै पनि बाहनामा उन्मुक्ति पाउन खोज्नै मिल्दैन । तर, सलिकोले पुरानो सगरमाथा इन्स्योरेन्सको झै गलत नियत राखेर बीमितको हुर्मत लिने र आगोलागी भएर खरानी मात्रै बाँकी रहेका पीडितलाई उल्टै अपमान र दुव्र्यवहार गर्ने गरेको पाइन्छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा गरेको र आगोलागीमा परेकाहरु मध्ये अधिकांशले बीमा दावी लिन निकै कठिन समस्याको सामाना गर्नुपरेको, कम्पनीका कर्मचारीहरुले धम्क्याउने गरेको गुनासोहरु आउनु सिंगो निर्जीवन बीमा क्षेत्रका लागि सुखद पक्ष होइनन् । बीमितले दावी भुक्तानी माग्न जाँदा सिईओ आफै टाई फुकालेर भिड्न तयार हुने सगरमाथाकै प्रवृत्ति अहिले सलिकोमा देखिनु नेपाली बीमा जगतमा अविश्वासको र बद्नामको कारक बन्न पुगेको छ ।

बीमाको सिद्धान्त अनुसार बीमा शुल्क लिएका बीमितलाई बीमा दावी भुक्तानी पाउदैनौं भन्नुअघि घटनाको सत्यता जाँच हुनुपर्दछ । बीमा दावी भुक्तानी आफैमा प्राविधिक विषय पनि हो । यो जटिल हुन्छ । तर, त्यसो भन्दैमा बीमित यो जटिलताको मारमा पर्नु हुँदैन । जसरी बीमा कम्पनीले बीमा शुल्क खुत्रुक्क रसिद काटेर लिन्छन्, त्यसैगरी, घटना भएको कुरा सत्य हो भन्ने वित्तिकै खुत्रुक्क चेक काटेर भुक्तानी दिनुपर्ने दायित्व बीमा कम्पनीकै हो र हुनुपर्दछ । जुन कुरामा सलिको चुक्दै गएको छ । बुटवलका आगोलागी पीडित गुप्त बहादुर खत्रीको सडकमा भौतारिनुले यही कुराको पुष्टि गर्दछ ।

नेपाली बीमा क्षेत्रमा सलिकोले गरेको अभ्यासले सिंगो निर्जीवन बीमा क्षेत्रमा अविश्वास र बीमा कम्पनीप्रति शंका उत्पन्न गराउने खालको छ । अझ नेपाल बीमक संघकै अध्यक्ष जस्तो गरिमामय पदमा रहेका व्यक्ति चंकी क्षेत्री सिईओ रहेको कम्पनीले आगोलागीमा परी सबै सम्पत्ति खरानी भए पश्चात बीमा दावी लिन खरानी बोकेर भौतारिरहेका व्यक्तिलाई निराश पार्ने कार्यले अन्य बीमा कम्पनीहरुले के सिक्ने ? नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवाल प्रत्येक भाषणहरुमा बीमा दावी भुक्तानी छरितो र सरल बनाउन सधैं चिच्याइरहेका छन् । तर, बीमा कम्पनीहरुले बीमा प्राधिकरणकै नाक भाँचिने गरी बीमितलाई सास्ती दिइरहनु शोभनीय कार्य होइन ।

बुटवलस्थित ज्योतिनगरमा रहेको खत्री प्रकाशन सामग्र नामक छापाखानाको बीमा सगरमाथा इन्स्योरेन्समा गरिएको थियो । कम्पनीमा २०७९ जेठ २ गते मध्ये राति विद्युत सर्ट भई आगो लाग्यो । अनि सगरमाथा इन्स्योरेन्स कम्पनीमा बीमा दावी गर्यो । मर्जरपछि बनेको नयाँ कम्पनी सलिकोले त्यसको दावी भुक्तानी दिनुपर्ने थियो । तर, कम्पनीले बीमितलाई डेढ वर्षदेखि सास्ती, दुःख र हैरानी दिँदै आएको छ । बीमा प्राधिकरणको नियम अनुसार घटना भएको बढिमा तीन महिनाभित्रैमा सबै प्रक्रिया पूरा गरी दावी भुक्तानी दिनुपर्ने भन्ने व्यवस्था छ । तर, डेढ वर्षसम्म पनि कम्पनीले दावी भुक्तानी दिने त परको कुरा कसरी दावी भुक्तानी नदिने भनेर सर्भेयरसँग मिलेर प्रपञ्च गरिरहेको छ ।

आगोलागी आफैमा अप्रिय र ठूलो धनजनको क्षति हुने प्रकोप हो । बीमितका कतिपय काजगात आगोलागीमा परेर सम्पत्तिसँगै बीमा सम्बन्धी कागजात पनि जलेर नष्ट हुन सक्दछन् । कतिपय अवस्थामा बीमितलाई बीमा दावी भुक्तानी सम्बन्धी पर्याप्त ज्ञान नहुन पनि सक्दछ । तर, बीमितले दावी भुक्तानी पाउने वातावरण सिर्जना गर्ने कार्य सम्बन्धित बीमा कम्पनीको पनि हुन आउँछ । यदि घटना भएको सत्य हो, प्राकृतिक र दुर्घटना हो भने बीमा कम्पनीले दावी भुक्तानी नदिन बीमितलाई देखाएर जे सुकै बाहना बनाए पनि कुनै छुट पाउनु हुँदैन । तर, सगरमाथाबाट सलिको बनेको बीमा कम्पनीले सधैं बीमितको दोष देखाएर सञ्चालकहरुलाई मुनाफाको लागि पीडितलाई थप पीडा दिने काम गर्दै आउनु बीमा सेवा विपरितको कार्य हुन आएको छ ।
बीमा कम्पनीहरु बीमितलाई दावी भुक्तानी दिनबाट पञ्छिने, अनेकन बाहना गरेर सर्भेयरमार्फत मिलेमतो गराउने कार्य कुनै पनि अर्थमा न्यायोचित र बीमामैत्री भनेर मान्न सकिदैन । सलिको वा अन्य जुनसुकै कम्पनीबाट भएका बीमाप्रति अविश्वास सिर्जना गर्ने कार्यले बीमाको दीगो विकास हुन सक्दैन ।

कुनै एउटा कम्पनीको नाफा घट्ने स्वार्थको लागि बीमित खरानी बोकेर सडक भौतारिने अवस्थाको अन्त्य गर्न नियामक निकायको तत्काल ध्यान जानु आवश्यक छ भने बीमाको दीगो विकासमा बाधा पुर्याउने सलिकोको दावी भुक्तानी प्रक्रिया, सर्भेयर छनौट प्रक्रियासम्म पुनर्संरचना गरिनु आवश्यक छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*