पेट्रोलियम पदार्थको ढुवानी बीमा शुल्कमा अनियमितताको आरोप, प्रिमियम रकम अपारदर्शी र राजस्वसमेत चुहावट

३ आश्विन २०८०, बुधबार १४:२८

काठमाडौं । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको ढुवानी बीमा शुल्कमा अनियमितता गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय र राजस्व अनुसन्धान विभागमा उजुरी परेको छ ।आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बीमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले उजुरी दिएको हो ।

एसोसिएसनले ढुवानी बीमा शुल्कका नाममा संकलन गरेको रकमको हिसाब पारदर्शी रूपमा नदेखाई सरकारलाई बुझाउनुपर्ने राजस्वसमेत चुहावट गरेको संघको आरोप छ ।यसले मुलुकभरका पेट्रोलियम व्यवसायीलाई मूअ कर बिजक बिल दिनबाट वञ्चित गरेको संघका महासचिव आत्माराम थापाले पेस गरेको उजुरीमा उल्लेख छ ।

‘बिल बिजक नदिँदा वार्षिक रूपमा आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदनमा समेत व्यवसायीलाई असर परेको छ ।बीमाको नाममा रकम अपचलन गर्ने संघसंस्था वा सञ्चालकलाई इन्धन डिपोबाट मार्गस्थल बीमाका नाममा मूअ कर बिजक बिललाई मात्र मान्यता हुने गरी चिर्कटो रसिदबाट बीमा शुल्क असुल्ने कार्य बन्द गराइदिन आग्रह गरेको छ ,’ जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘चिर्कटोका आधारमा राजस्व छली भएकाले तत्काल छानबिन गर्न आग्रह गर्दछौं ।’

संघको पत्रसँगै जिल्ला प्रशासन कार्यालयले ढुवानी बीमा सम्बन्धमा स्पष्ट पारिदिन निगमलाई पत्र पठाएको छ । निगमको राय, सुझाव, सम्बन्धित कागजातको प्रमाणित प्रतिलिपिसहित उपलब्ध गराएर छानबिनमा सहयोग गर्न पत्र पठाइएको हो ।संघले राजस्व अनुसन्धान विभागलाई पठाएको पत्रमा कर छलीमा सक्रिय संस्थालाई तत्काल आवश्यक निर्देशन दिन पनि अनुरोध गरिएको छ ।

‘पम्प व्यवसायीबाट उठाइएको शुल्क पारदर्शी भएन । व्यवसायीलाई सुरक्षा पनि भएन,’ महासचिव थापाले भने, ‘मुलुकभर रहेका १ हजार ५ सय व्यवसायीबाट वार्षिक करोडौं रुपैयाँ संकलन हुन्छ । तर हिसाब पारदर्शी हुँदैन । सरकार र व्यवसायी ठगिएको ठगियै भए ।’

निगमले इन्धन बिक्री गरेको परिमाण, बीमा कम्पनीमा तिरेको रकम र एसोसिएसनले उठाएको रकम नै फरक छ । ०७९÷८० मा पेट्रोल र डिजेल बिक्री गरेका हिसाबले ढुवानी बीमाशुल्क १८ करोड १५ लाख रुपैयाँ संकलन भएको छ । तर एसोसिएसनले राष्ट्रिय बीमा कम्पनीमा १२ करोड ३ लाख रुपैयाँ मात्रै शुल्क बुझाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा पेट्रोल र डिजेल बिक्री गरेका हिसाबले ढुवानी बीमा १६ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । तर एसोसिएसनले ११ करोड ५४ लाख मात्रै बीमा शुल्क तिरेको तथ्यांकमा उल्लेख छ ।
एसोसिएसनले भने ०.०८ प्रतिशतको हिसाब रकम उठाउँदै आएको थियो । ०.०८ प्रतिशतका हिसाबले रकम झन् बढी हुने व्यवसायी बताउँछन्।

बीमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेपछि एसोसिएसनले केही मात्रामा शुल्क घटाइसकेको छ । बीमा शुल्कका नाममा निगमले प्रतिलिटर ०.०६ प्रतिशतका दरले रकम उपलब्ध गराउँदै आएको छ ।
तर एसोसिएसनले पम्प व्यवसायीबाट ०.०८ प्रतिशतका दरले रकम उठाउँदै आएको थियो । व्यवसायीबाट उठाइएको रकम अपचलन भइरहेको आलोचना भएपछि एसोसिएसनले शुल्क घटाएको हो । भ्याटसहित गरेर गरेर ६ पैसा ६७ दाम उठाउने निर्णय भएको भएको संघले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*