एक महिनादेखि हराइरहेका प्राध्यापक अधिकारी अझै भेटिएनन्

२ आश्विन २०८०, मंगलवार १६:१०

काठमाडौं । प्राध्यापक डाक्टर दलबहादुर अधिकारी विगत एक महिनादेखि हराएका छन् । साउन ३२ गते बिहान ११ बजेतिर बुढानिलकण्ठस्थित पञ्चकन्याको कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी असोज २ गतेसम्म फेला परेका छैनन् ।

प्राध्यापक अधिकारीको पारिवारिक स्रोत र प्रहरीका अनुसार उनलाई बिर्सने रोग (अल्जाइमर्स) रहेको छ । ‘एक वर्षदेखि कोलनीको गेटभन्दा बाहिर एक्लै नगएका अधिकारी त्यो दिन कोलनीभित्रै मर्निङ वाक गरेर चिया–नास्ता खाएर घर फर्कन्छु भनेका थिए तर घरनै फर्किएनन्’ अधिकारीको पारिवारिक स्रोतले बताएको छ ।

रूसबाट विद्यावारिधि गरेका अधिकारी गणितका प्राध्यापक हुन् । लामो समय त्रिचन्द्र कलेजमा अध्यापन गरेका अधिकारीले काठमाडौं विश्वविद्यालय, पद्यमकन्या, केयु र नेशनल कजेलमा पढाएका थिए ।

उनले घर छोडेको थाहा पाउना साथ नै खोजी कार्य सुरू गरे पनि अहिलेसम्म कुनै क्लु फेला नपरेको कारणले पनि फेला नपरेका अधिकारीको पारिवारिक स्रोतले बताएको छ ।

नेपाल प्रहरीले पनि एक सूचना प्रकाशित गर्दै अधिकारीलाई देख्ने वा भेट्ने मानिसले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेको छ ।

प्रहरीका अनुसार घरबाट निस्किएका दिन अधिकारीले हल्का सेतो रङको सर्ट, खरानी रङको सुरूवाल र कालो मोजा लगाएका थिए। जन्मजात ओठ फाटेका अधिकारी गहुँगोरो वर्णका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*