अल्पविकसित देशको पक्षमा बोल्दै प्रधानमन्त्री प्रचण्ड, प्रतिबद्धता पुरा गर्न विकसित देशलाई आग्रह

२ आश्विन २०८०, मंगलवार १५:१२

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अति कम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।

अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्टिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिएका छन् । सोमबार सम्मेलनमा सम्बोधन गर्दै प्रचण्डले कोभिड १९ को महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावजस्ता विश्वव्यापी समस्याले अति कम विकसित देशको उन्नतीलाई दबाएको उल्लेख गर्दै यस समस्याको हलको योजना अत्यावश्यक रहेको उल्लेख गरेका छन् ।

उनले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको जानकारी दिदै यसबाट पूर्वाधार, नवीकरणीय उर्जा, खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो जोखिम पारेको पनि बताएका छन् ।

उनले अति कम विकसित देशहरूले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने र यसका लागि दोहा कार्य योजना, जसप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता रहेको र त्यसलाई स्वीकार गर्न आग्रह गरेका छन् ।

उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने बताए । प्रचण्डले एसडीजी प्रोत्साहन प्याकेज मार्फत् अति कम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*