लाभांश प्रस्तावसहित ओरियन्टल होटेल्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । ओरियन्टल होटेल्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको सोमबार (असोज १ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९–८०को नाफाबाट हालको चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
यसैगरी सञ्चालक समितिको बैठकले आफ्नो २६औँ वार्षिक साधारणसभा पनि डोकेको छ । सभा यही असोज २५ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेल्सको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।