‘एनआईबीएल प्रगति फन्ड’को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१ आश्विन २०८०, सोमबार १२:५१
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १ गते अन्तिम दिन रहेको छ ।
योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज १ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य हुनेछन् । यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ।
क्यापिटलको गत भदौ १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७९–८०का लागि एनआईबीएल प्रगति फन्डका इकाइधनीहरुलाई करसहित ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । जसअनुसार यो योजनाका इकाइधनीहरुलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले जनाएको छ ।