ऊर्जामा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन इप्पान र एफएमओबीच छलफल
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन पहल थालेको छ ।
बुधवार डच बैंक एफएमओका प्रतिनिधिहरुसँग काठमाडौंमा भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खरबौं डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन एफएमओसंग आग्रह गरेका हुन् ।
इप्पान अध्यक्ष गणेश कार्कीले वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६०० मेगावाट क्षमताका जलविद्युत आयोजनाको सरकारले विद्युत खरिद विक्री सम्झौता (पीपीए) नै खारेज गरेको स्मरण गराउँदै नेपालको ऊर्जा क्षेत्रमा अथाह लगानीको अवसर भएको बताए ।
‘सरकारले हालै १२ वर्षमा ३५ हजार मेगावाट विद्युत उत्पादनको रणनीति लिएको छ । नेपाली बैंकहरुले यी सबै आयोजनाको वित्तीय व्यवस्थापन गर्न सक्दैनन् ।’ कार्कीले भने, ‘किनभने अहिले नै २ हजार ६०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन नभएका कारण सरकारले पीपीए खारेज गरेको अवस्था छ ।’
एफएमओका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल जोंजेनीलले नेपालमा जलविद्युत प्रवर्द्धकले वातावरण, सामाज र सरकारलाई केन्द्रमा राखेर काम गरेमा नेपालको ऊर्जा क्षेत्रमा एमएफओले ठूलो लगानी भित्र्याउन चाहेको बताए ।
एफएमओका तर्फबाट सीईओ माइकल सहित म्यानेजर जेसुन हान, वरिष्ठ लगानी अधिकृत आर्नो डे भेट्टे र एसिया क्षेत्रको ऊर्जा हेर्ने म्याथ्यू रिबेइरो–नोर्ले छलफलमा सहभागी थिए ।