एमाले नेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराति हृदयघातबाट निधन भएको छ । गएराति १ः३० बजे असहज भएपछि तत्कालै शिक्षण अस्पताल पु¥याइएका नेम्वाङको चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङ संविधानसभाका अध्यक्ष रहेर नेपालमा संघीय लोकतान्त्रिक संविधान जारी गर्न महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेका थिए । नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले पार्टी र पारिवारिक सल्लाहपछि शवलाई श्रद्धान्जलीका लागि राखिने जानकारी दिए ।
नेम्वाङ बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । चिकित्सकले बाटोमै निधन भइसकेको भन्दै मृत घोषित गरेका थिए । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
यसैबीच, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली शिक्षण अस्पताल पुगेका छन् । दुईपटक संविधानसभाको अध्यक्षसहित पाँचपटक सभामुख भएका सुभाष नेम्वाङको मंगलबार विहानको राति हृदयघातका कारण निधन भएको हाे ।
इलामका नेता नेम्वाङ २०४८ सालदेखि नेपालको राजनीतिमा सक्रिय थिए । उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेता नेम्वाङ २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।