हेलो सरकार पुनः सञ्चालनमा, २४ सै घण्टा गुनासो, समस्या र भ्रष्टाचारबारे सूचना दिन सकिने

१९ भाद्र २०८०, मंगलवार १०:४९

काठमाडौं । सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आइतबारदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिने भएको छ । आम जनताले फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइवर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट गुनासोहरू टिपाउने व्यवस्था सरकारले गरेको छ ।

नागरिकले हेलो सरकारलाई कसरी सम्पर्क गर्न सक्छन् ? 

नागरिकहरुले हेलो सरकारकारको वेबसाईट  https://gunaso.opmcm.gov.np/home   मार्फत आफुलाई सजिलो हुने डिजिटल माध्यमबाट गुनासो टिपाउन तथा कुनै पनि नीति निर्माणमा राय सुझाव दिन सकिने छ । आम जनताले फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइवर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट गुनासोहरू टिपाउने व्यवस्था सरकारले गरेको छ ।

हेलो सरकारको टोल फ्रि नम्बर 1111 मा सम्पर्क र म्यासेज गरी आफ्नो समस्या तथा गुनासो दर्ता गर्न सकिन्छ । यसका साथै, आम नागरिकले हेलो सरकारको कार्यलय नम्बर +97714211087  र भाइबर (9851145045 ) मा समेत फोन गरी वा म्यासेज गरी गुनासो दर्ता गराउन सकिन्छ । नेपाली जनताले हेलो सरकारको आधिकारिक इमेल  [email protected]  मार्फत पनि गुनासो दर्ता गराउन सकिनेछ ।

‘हेलो सरकार’को टोल फ्री नम्बर ११११ को सेवालाई प्रभावकारी बनाउन सरकारले एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरेको छ। सहकार्यसँगै अब एनसेलका ग्राहकले ‘हेलो सरकार’को नम्बरमा निःशुल्क फोन गरी गुनासो राख्न सक्नेछन्।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ । हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरण समेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था समेत गरिएको छ ।

उक्त अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले जनताको गुनासो गम्भीरतापुर्वक सम्बोधन हुँदा लोकतन्त्र बलियो हुने र त्यही प्रयोजनका निम्ति १२ वर्षअघि हेलो सरकार शुभारम्भ गरिएको स्मरण गरे । साथै, उनले राज्य प्रणालीप्रति नागरिकको सकारात्मक अपेक्षा हुनु स्वभाविक रहेको बताउदै यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासा तथा जिज्ञासाहरुको तत्काल उचित सम्बोधन गर्न समेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सार्वजनिक निकायबाट भएको कामकारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्ने, जनताका जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहेको बताएका छन् । उनले सुशासन प्रवर्धनका लागि सार्वजनिक निकायबीच अन्तव्र्रिmयात्मक मञ्चको लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक पर्ने समेत बताए ।

प्रधानमन्त्री प्रचण्डले हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा पनि सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन् । यसका साथै, उनले सुशासनको पहिलो सर्त सरकार र जनताबीचको आत्मिय सम्बन्ध बलियो बनाउनु रहेको भन्दै धेरै भाषण गरेर मात्र हुदैन ‘त्यसैले म नेपाल सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशित गर्दछु ।’ उनले हेलो सरकारसँग प्रत्यक्ष आबद्ध भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा तथा कुनै पनि समस्या राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलब्ध गराउन तथा सञ्चाल सदस्य बन्न र अन्तत्र्रिmया गर्न आम समुदायममा अनुरोध गरेका छन् ।

कार्यक्रममा मुख्यसचिव डाक्टर बैकुण्ठ अर्यालले हेलो सरकारको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् । उनले गुनासो सम्बोधनका निम्ति विशेष टिम गठन गरी कार्यन्वयनमा ल्याएको बताए । साथै उनका अनुसार उक्त विशेष टिमले गुनासो तथा समस्या कार्यन्वयन भए नभएको निरिक्षण गर्ने र समस्या सामाधानमा आवश्यक सहयोग समेत गर्ने भएको छ ।

उक्त सेवाको शुभारम्भ पश्चात आयोजित कार्यक्रममा मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*