शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प
काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ ।
प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ । रिलायन्स लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, माण्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रतिकित्ता २०० देखि २५० रुपैयाँमा प्रिमियममा आइपीओ जारी गरेका छन् । सिटिजन्स लाइफले पनि भोलिदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गर्दैछन् ।नयाँ कम्पनीको आइपीओमा आवेदन दिनको लर्को लागेको छ । तर सो मूल्यमै दोस्रो बजारमा शेयर पाँउदा पनि लगानीकर्ताको आकर्षण भने बढ्न सकेको छैन ।
वाणिज्य बैंक र हाइड्रोपावर कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो सेयर मूल्य हुने कम्पनीहरू यी कम्पनीहरुको रहेको छ ।वाणिज्य बैंकहरूको सेयर संख्या धेरै हुने भएकाले सेयर मूल्य पनि प्रभावित बनेको हो । मागभन्दा आपूर्ति अधिक हुँदा बैंकको सेयर मूल्य बढ्न सकेको देखिँदैन ।
समग्रमा वाणिज्य बैंकहरूको नाफा २५ प्रतिशतले बढे पनि आधा दर्जन बैंकको लाभांश दिन सक्ने क्षमता छैन । यस वर्ष प्रतिफल नपाउने देखेपछि लगानीकर्ताको बैंकको सेयर प्रति आकर्षण घट्दा मूल्य झनै घटेको हो ।अधिकांश हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश दिन सक्ने देखिँदैन । प्रतिफल नपाउने देखेपछि हाइड्रोपावरको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा सेयर मूल्यमा पनि भारी गिरावट आएको हो ।
नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये अहिले १० प्रतिशत बढी कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाभन्दा तल झरेको छ । जबकि नेप्से ३२०० पुग्दा यी अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०० रुपैयाँ माथि थियो ।नेप्सेमा सोमबार कारोबार भएको अन्तिम मूल्य अनुसार ३० कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा कम छ । जसमा ६ वटा वाणिज्य बैंक र २४ वटा हाइड्रोपावरको सेयर २०० रुपैयाँभन्दा कम छ ।
नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्राइम् कमर्शियल र सिटिजन्स बैंकको सेयर मूल्य २०० रुपैयाभन्दा तल रहेको छ । जसमा कुमारीको भाउ सबैभ्न्दा कम प्र्रतिकित्ता १५८ रुपैयाँ रहेको छ ।
यसैगरी, दुई दर्जन हाइड्रोपावरको पनि सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ । जसमा हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता १३७ रुपैयाँ मात्रै छ ।
दिव्यश्वरी, शिव श्री, आँखुखोला, मोलुङ, युनियन, पञ्चकन्यामाई, मोदी इनर्जी, खानीखोला, अपि पावर, घलेम्दी, सिनर्जी पावर हाइड्रोपावरको सेयर भाउ प्रतिकित्ता १७५ रुपैयाँभन्दा कम रहेको छ ।
त्यसैगरी, माउन्टेन, अरुण काबेली, भूगोल इनर्जी, दोल्ती पावर, युनिभर्सल पावर, युनाइटेड मोदी, हिमालयन र मायाखोला हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ ।