जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च १२ प्रतिशतले घट्यो, बीमा संस्थानको खर्च उच्च बृद्धि
काठमाडौं । देशमा उत्पन्न आर्थिक संकटको कारण जीवन बीमा कम्पनीहरुले अपनाएको खर्च बचत रणनीति प्रभावकारी भएको देखिएको छ ।जसको कारण आव २०७९।०८० मा नेपालका १४ वटा जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च १२.०७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।
बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा १२ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले घटेको छ ।
कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ८ करोड ३२ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ । जीवन बीमा कम्पनीको मर्जर अभियान र बीमा कम्पनीहरु आफैले पनि खर्च कटौतिको नीति लिएकोले जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च कटौति भएको हो ।
समीक्षा अवधिमा नेपाली बीमा क्षेत्रको परिचित कम्पनी नेपाल लाइफको सबैभन्दा बढी रहेको छ । यस अवधिमा कम्पनीले दुई अर्ब ४९ करोड रुपैयाँ व्यवस्थापनमा खर्चिको वित्तीय विवरणले देखाएको छ ।
दोस्रो नम्बरमा साविकका तीन बीमा कम्पनी एक भई बनेको हिमालयन लाइफ रहेको छ । यस अवधिमा कम्पनीले आफ्नो व्यवस्थापनमा एक अर्ब ८१ करोड रुपैयाँ खर्चीएको छ ।
व्यवस्थापन खर्चको आधारमा नेशनल लाइफ तेस्रो स्थानमा रहेको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीले एक अर्ब २२ करोड रुपैयाँ व्यवस्थापन खर्चमा भुक्तानी गरेको छ ।
समीक्षा अवधिमा सूर्यज्योति लाइफले एक अर्ब १९ करोड रुपैयाँ, एलआइसी नेपालले ८९ करोड ११ लाख रुपैयाँ, एशियन लाइफले ७० करोड २३ लाख रुपैयाँ, सिटिजन लाइफले ६८ करोड ८१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ६२ करोड ७४ लाख रुपैयाँ, आइएमई लाइफले ५८ करोड २१ लाख रुपैयाँ, मेट लाइफले ५५ करोड ९५ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएको वित्तीय विवरणले देखाएको छ ।
त्यस्तै, यस अवधिमा सानिमा रिलायन्स लाइफले ४७ करोड १४ लाख रुपैयाँ, सन नेपाल लाइफले ४३ करोड ३९ लाख रुपैयाँ, प्रभु महालक्षी लाइफको ४१ करोड र सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले २७ करोड ४९ लाख रुपैयाँ खर्च गरेका छन् ।
बृद्धिदरको आधारमा
हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये तीन कम्पनीको मात्र व्यवस्थापन खर्च बढेको छ भने ११ कम्पनीको घटेको छ ।
गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानको ३० दशमलव १८ प्रतिशतले बढेको छ । संस्थानले अघिल्लो वर्षमा २१ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा गत आवमा २७ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । यसले संस्थानभित्र दुरुपयोग र भ्रष्टाचार बढेको आशंका गरिएको छ ।
यस अवधिमा नेपाल लाइफको २ दशमलव ७२ र मेट लाइफको ० दशमलव ६८ प्रतिशतले व्यवस्थापन खर्च बृद्धि भएको छ ।
समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफको व्यवस्थापन खर्च सर्वाधिक घटेको छ । यस अवधिमा कम्पनीको ५० दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको ४९ प्रतिशतले घटेको छ । यस अवधिमा रिलायबल नेपाल लाइफको सबैभन्दा कम प्रतिशतले घटेको छ । कम्पनीको व्यवस्थापन खर्च यस अवधिमा २ दशमलव ७२ प्रतिशतले घटेको छ ।