बीमा सम्राट प्रभा ज्ञवालीको पौरखः टिकटकदेखि विदेशसम्म बीमा व्यवसायको साम्राज्य

रिना खत्री
१३ भाद्र २०८०, बुधबार २०:३७

काठमाडौं । २०५७।०५८ सालतिर नवलपरासी बजारस्थित स्टेशनरी पसल सञ्चालन गर्दै गरेकी प्रभा ज्ञवालीले जीवनमा बीमा अभिकर्ता बनेर बीमा सम्राटको उपाधीसहित राष्ट्रिय अन्तर्राष्ट्रिय परिचय, सामाजिक व्यक्तित्वको परिचय र आजको वैभवशाली जीवनशैलीबारे शायदै कल्पना समेत गरेकी थिईन । सामान्य जीवन शैली, मध्यमस्तरको आर्थिक हैसियतको कल्पना गर्ने प्रभा ज्ञवालीले बीमा क्षेत्रलाई रोज्न पुगिन्, कठिन परिस्थिति, चारैतिर अप्ठेरो वातावरणमा पनि सतिसाल झै दृढ भएर उभिइरहिन्, जीवन बीमालाई समाजसेवा, मानव कल्याणसँग जोडेर अघि बढ्दा आज उनको अगाडि बीमा कम्पनीको एउटा शाखा कम्पनीसरह बार्षिक करोडौंको बीमा गरेर देशको लागि पुँजि निर्माण, बीमा कम्पनीको लागि बीमा व्यवसाय र आफ्नो लागि मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।

दुःख सुख स्टेशनरी पसल सञ्चाल गर्दागर्दै एक दिन एक वैवाहिक समारोहको कार्यक्रममा उपस्थित भएको बेला पहिलो पटक बीमा अभिकर्ताको बारेमा पहिलो पटक सुनेकी थिईन् । २०५८ सालमा पहिलो पटक बीमा बारे बुझेकी प्रभा ज्ञवाली आज एक प्रेरणादायी अभिकर्ताको रुपमा परिचित छिन् । प्रभाले बीमाबारेमा पहिलो पटक बीमामा होमिएको अहिले २२ वर्ष पुरा भएको छ ।

उनको बोल्ने शैली र नयाँ व्यक्तिहरुसँग चाँडैं घुलमिल हुने व्यवहारलाई देखेर एलआईसी नेपालका एजेन्सी म्यानेनजर नवराज गौतमले उनलाई पहिलो पटक बीमा अभिकर्ता बन्न प्रस्ताव गरेका थिए । उनी पनि समाजको खुला वातावरणमा पुगेर केही गर्न चाहन्थिन् । एजेन्सी म्यानेजर गौतमसँगको प्रशिक्षणको क्रममा उनलाई बीमा कम्पनी एलआईसी नेपाल पनि चित्त बुझ्यो भने व्यवसाय पनि चित्त बुझ्यो ।
प्रभा ज्ञवालीले एजेन्सी म्यानेनजर गौतमको उक्त उत्प्रेरणाको कारण नै आज यो स्थान पाउन सफल भएको सम्झन्छिन् । एजेन्सी म्यानेनजर गौतमको उत्प्रेरणाको कारण बीमा अभिकर्ता पेशमा प्रवेश गरेकी उनलाई सुरुमा तालिम लिन सहज थिएन किनभने त्यो तालिम लिन १२०० रुपैयाँ बुझाउनुपर्ने हुन्थ्यो ।

उनीसँग साथमा सो रकम थिएन । संयुक्त परिवारमा बस्ने भएको कारण गर्दा पनि उनले पैसा आवश्यक पर्दा पनि परिवारलाई माग्नुपर्ने बाध्यता थियो । एक महिनामा ब्याज सहित फिर्ता गर्छु भन्ने बाचाका साथ उनले परिवारसँग उक्त रकम मागेर अभिकर्ता क्षेत्रमा आवद्ध भईन् ।

……………

फेसबुकमा हेर्न यहाँ क्लीक गर्नुहोला ।

…………….

एक हजार दुई सय रुपैयाँ तिरेर बीमा अभिकर्ता त बनिन् तर जीवन बीमा प्रस्ताव बोकेर बीमितको घरदैलोमा हिड्ँदा सजिलो भने थिएन् । अहिलेको जस्तो नेपालमा बीमाबारे बुझ्ने थोरै थिए, जतिबेला प्रभा बीमा क्षेत्रमा केही गर्छु भन्दै होमिएकी थिइन्, त्योबेला बीमा अभिकर्ता अहिलेको जस्तो थिएन् ।

नेटवर्किङ व्यवसायले आम मानिसलाई नकारात्मक प्रभाव पारिरहेको थियो । यसले बीमा कम्पनीमा काम गर्ने व्यक्तिलाई पनि असर गरिरहेको थियो । नेटवर्किङमा जस्तै पैसा खाएर भाग्ने हुनकी भन्ने डर भइरहेको बेला प्रभाले बीमा अभिकर्ताको लाइन्सेन्स मात्रैले बीमा अघि बढाउन निकै कठिन अवस्था थियो ।

नेटवर्किङ व्यवसायले बजार बिगारिरहेको बेलामा २०।२५ बर्ष एउटै कम्पनीमा पैसा राख्न आग्रह गर्न बीमितहरुलाई सम्भव नै थिएन् ।

त्यस्तै, अर्को समस्या भनेको महिलाका लागि बाहिर घुमेर काम गर्नु झन् सकस थियो । एक त बीमाको बारेमा ज्ञानको अभाव, बजारमा बीमा बुझेका मानिस नै थिएनन्, अर्को महिलाका लागि असहज वातावरण, एक हिसाबले प्रभाले पत्थर फोरेर हिरा खोज्ने अभियानमा दृढ निश्चयसहित होमिएकी थिईन् ।

यस्तै बाँधा माँझ पनि २००१ को डिसेम्बर ६ बाट सुरु गरेको बीमा व्यवसायबाट डिसेम्बर नसकिदै करिव ७० हजार कमाउन सफल भइन् । तर यो सब सरलताका साथ भने कमाएको पक्कै हैन । कठिन चुनौती पार गर्दै पहिलो पटक यो प्राप्त गरेको सफलता थियो ।

समयमा जीवन बीमा क्षेत्रमा देखिएका गम्भिर समस्यालाई चिरेर जनमानसमा बीमा प्रतिको सकारात्मक पक्षको उजागर गर्ननै उनलाई करिव पाँच वर्ष समय लागेको उनी बताउछिन् । उनलाई यो क्षेत्रमा लाग्न परिवारले पनि हौसला प्रदान गरेका थिए । त्यसपछि उनमा अझ ऊर्जा जागेको थियो । उनले व्यवसायको शिलशिलामा दैनिक रुपमा करिव १० जनालाई भेट्ने गर्दथिन् । महिनामा करिव ३०० जना भेट्दा लगभग ३० पोलिसी मात्र जारी गराउन उनी सफल हुन्थिन । बीमा व्यवसायकै क्रममा उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पनि पुगिसकेकी छिन् ।

हरेक दिन विहान १०ः०० बजेदेखि बीमाको काम सुरु गर्ने प्रभाले अपरान्ह पाँच बजेसम्म निरन्तर संघर्ष गरिरहेकी हुन्छिन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा आवद्ध भएर देश विदेश समेत घुम्ने अवसर उनले पाएकी थिइन् ।

बीमा क्षेत्रमै आएर एक किसिमको नाम, दाम र पहिचान बनाउन सफल भएकी प्रभा भन्छिन्, ‘म एउटा स्टेशनरी पेशा भनेको टेवलमा बसेर मात्र गरिने पेशा भएकाले त्यो पेशा र यो पेशामा धेरै अन्तर पाएँ । स्टेशनरी व्यवसायमै रहेको भए म जहाँको त्यहि रहन्थे होला । बीमा अभिकर्ता पेशालाई म सामाजिक पुण्यको पेशाका रुपमा हेर्छु र हेरिदिनु आग्रह गर्दछु ।’

उनी आफ्नो अथक मेहेनत र प्रयासले एमडीआरटी मात्र नभएर एमडीआरटीको २ गुणा व्यापार बृद्धि गरी सिओटी र ६ गुणाले व्यापार बृद्धि गरी टिओटी समेत भइसकेकी छिन् । टिओटी भएर उनले अन्तर्राष्ट्रिय फोरमहरुमा समेत सहभागी भइसकेकी छिन् ।

कोरोनाको कारण देश लकडाउनमा रहेको बेला उनले अप्ठ्यारोमा परेका बीमितहरुलाई लक्षित गरि बीमा कम्पनीबाट बीमा पोलिसी धितो राखेर सापटी लिन पाउनुहुन्छ । त्यही सापटीबाट किस्ता समेत चलाउन सक्नुहुन्छ भनेर उनले एउटा छोटो भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेकि थिइन् ।

करिव २ घन्टापछि पुनः त्यो भिडियो हेर्दा भिडियोमा ३५ देखि ४० हजार सम्म भ्युज देख्दा उनी आफै अचम्ममा परिन् । मानिसलाई आवश्यकता कति सम्म पर्ने रहेछ त्यस प्रसङ्गबाट पनि छर्लङ्ग पनि भएकी थिइन् ।

त्यसपछि उनले सामाजिक सञ्जालबाट पनि सक्रिय रुपमा बीमितहरुको गुनासो तथा प्रश्न सुन्ने र उनीहरुको प्रति उत्तर दिने गरी सामाजिक सञ्जालमार्फत पनि बीमा सचेतना जगाउन सक्रिय रुपमा लागि परिन् । यसरी उनले लकडाउनको समयलाई समेत आफू प्रतिकुल उपयोग गरेकी थिइन् । यसप्रकारको कार्यबाट उनी प्रख्यात समेत हँुदै गएकी छिन् । यसबाट बीमितले समेत उपयुक्त लाभ उठाउन सकेका छन् ।
उनले सबैभन्दा धेरै प्रयोग गरिन् टिकटक । बीमा पोलिसी बेच्न टिकटक सबैभन्दा सजिलो माध्यम बन्यो । ‘फेसबुकभन्दा टिकटकले मेरो व्यवसायमा धेरै सहयोग गरेको छ । उनले अहिले टिकटकमार्फत नै महिनामा ६० प्रतिशत बीमा व्यवसाय भइरहेको छ ।’

टिकटकमा उनी ‘प्रभा ज्ञवाली११ मा बीमा सम्राट एलआइसीको रुपमा भाइरल छिन् । उनले पोष्ट गरेको भिडियोकै प्रभावले बीमा गर्नुपर्यो भन्दै आउने धेरै छन् । प्रभाले टिकटकको माध्यमबाट देशमा मात्रै होइन विदेशमा रहेका नेपालीलाई समेत बीमा गराइरहेकी छन् ।

‘टिकटकमा बीमाको प्रवर्द्धन गरिरहँदा मैले नेपालमा यसको बजार अझ धेरै भएको अनुभव भएको छ,’ प्रभावले भनिन, ‘जुन मान्छेलाई बीमाको आवश्यक छ, त्यहाँ पुग्न अझै सकेकै छैनौं ।’
प्रभा भन्छिन्, लगनशिल भएर काम गर्न सक्यो भने यो पेशा राम्रो छ, “दिन रात खट्नुपर्ने भन्ने हुँदैन, चिनजानको भरमा काम गर्न सकिन्छ ।” बीमा अभिकर्ता पेशा सामाजिक सेवा हो, उनले भनिन् ।
“मान्छेहरुको नराम्रो बानीहरु जस्तै पान, खैनी, चुरोट खानेमा खर्च हुने पैसा मात्रै जम्मा गर्न सक्यो भने पनि ठुलो बीमाङ्कको नभए पनि सानो बीमाङ्क रकम कै भए पनि बीमा हुन्छ । जस्ले गर्दा उसको परिवारमा पर्न गएको आर्थिक जोखिमसँग सामाना गर्न सहयोग गर्दछ । ”

“मानवीय जीवनमा जोखिम अनिश्चित हुन्छ, जति बेला पनि जोखिम पर्न सक्छ । कुनै परिवारमा आम्दानी गर्ने सदस्यको केही गरि दुर्घटना भएमा उसको परिवारमा आर्थिक संकट पर्न जान्छ । मृत्यु हुने बित्तिकै परिवार धानेको मान्छे नै नभए पछि परिवारमा आर्थिक संकट आईपर्छ, त्यस्तो बेलामा इन्स्योरेन्स कम्पनीले परेको आर्थिक संकटलाई केहि हदसम्म सामना गर्न सघाँउ पुर्याउँदछ ।” उनले भन्छिन् ।पहिलेको समयमा अभिकर्तामा महिलाको संख्या एकदमै कम हुने गर्दथ्यो । तर अहिले त्यो अवस्था नभएको र महिलाहरु पनि सक्रिय रुपमा बीमा क्षेत्रमा लागि परी उत्कृष्ट टार्गेट समेत हासिल गर्न सकेको उनी बताउछिन् ।

यसको एक सफल उदाहरण उनी आफै पनि हुन् । बीमा क्षेत्र सानो प्लेटर्फम नरहेको र यस क्षेत्रमा राम्रोसँग बुझेर लागिपरेमा यस क्षेत्रबाट उल्लेख्य प्रगति गरी समाजमा आफ्नो छुट्टै मान प्रतिष्ठमा कमाउन सकिने उनी बताउछिन् ।

हामीले उमेर रहँदासम्म पैसा कमाइरहेका हुन्छौ तर पछि केही कारणबस पैसा कमाउन असमर्थ भएमा के गर्ने ? यसरी भविष्यमा आउने वा आउन सक्ने समस्यासँग जुध्न अहिलेबाट नै तयारी गरिने भएकाले जीवन बीमा महत्वपूर्ण रहेको उनी बताउछिन् । आफ्नो भविष्य आफैले सुनिश्चित गर्ने माध्यम नै बीमा भएको २२ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय प्रभाको अनुभव छ ।

सरकारले बीमा नीतिलाई प्राथमिकता नदिँदा बीमा क्षेत्रमा समस्या आएको उनी बताउछिन् । अन्य कतिपय देशको सरकारले जोखिम हुनसक्ने क्षेत्रमा बीमा अनिवार्य गर्दा नेपाल सरकारले त्यो नीति अपनाएको छैन । बीमा प्राधिकरण र बैंकले आपसमा समझदारी गरेर बैंकबाट ऋण लिने ऋणीले यतिसम्मको जीवन बीमा गर्नुपर्छ भनेर बीमा प्राधिकरणले नियम लागू गरिदिएमा बैंक पनि सुरक्षित हुने उनको भनाई रहेको छ ।

कतिपय समयमा अभिकर्ताहरुले बीमितको आर्थिक अवस्था नबुझी हैसियत भन्दा धेरैको बीमा गराउँदा बीमितले बीमा पोलिसी सरेन्डर गर्न बाध्य भएको उनी बताउछिन् । कम्पनीको आधारस्तम्भ अभिकर्ता भएको र अभिकर्ताले त्यसरी मनपरि ढङ्गबाट हैसियतभन्दा बढीको बीमा गराउँदा बीमितहरु मारमा परेको समेत उनी बताँउछिन् । बीमा अभिकर्ता बीमितको आर्थिक विश्लेषण गर्ने एक्चुरी बनेर काम गर्नुपर्ने बताउँछिन् ।

बीमितहरुमा दीर्घकालिन बचतको सोच नहुनु र अभिकर्ताले राम्रोसँग बीमितलाई बुझाउन नसक्नु र बीमितको आर्थिक अवस्थालाई नहेरी अनावश्यक रुपमा ठूलो रकमको बीमा गराउने प्रचलनका कारण बीमा पोलिसी सरेन्डर गर्नेको संख्या घट्नुको सट्टा उल्टै बढेको उनको अनुभव छ ।

पछिल्लो समयमा सरकारले एकाघर बीमा अभिकर्तामा सामेल हुन नपाउने र एउटै व्यक्ति एकभन्दा बढी कम्पनीको एजेन्ट हुन नपाउने निर्णय स्वागतयोग्य भएका उनको बुझाई छ ।सरकारले प्लस टु उत्तीर्ण हुनुपर्ने र तालिम लिनुपर्ने व्यवस्था गरेकोमा कम्पनीलाई दक्ष अभिकर्ता उत्पादन गर्न थप सहयोग मिलेको उनको भनाइ छ । आफ्नो काम प्रति जिम्मेवार र अनुशासित हुँदा सफल अभिकर्ता बन्न सकिने धारणा उनको रहेको छ ।

बजारमा दक्ष बीमा अभिकर्ताको अभावका कारण पनि बीमाको महत्व बुझउन नसकिएको उनको तर्क छ । उनको काम देखेर अन्य बीमा कम्पनीहरुले आफ्नो कम्पनी आउन आग्रह आइरहने उनी सुनाउँछिन् । आफ्नो काममा रमाउन सक्ने हो भने त्यसमा सफलता पाउन सकिने उनको भनाइ छ । ‘धैर्यता र निरन्तरता हुने हो भने जो कोही पनि अभिकर्ता पेशामा सफल हुनसक्छन्,’ उनी भन्छन् ।

One thought on “बीमा सम्राट प्रभा ज्ञवालीको पौरखः टिकटकदेखि विदेशसम्म बीमा व्यवसायको साम्राज्य

  1. Buddhiram Chaudhary says:

    Yo news padher ekdam Khushi lagyo ra jibanma bima Kati aabshyak x vanne kura yo news le clear bataidieko x. Malai ni ek saphal bima ejent baner Kam suru garu garu lagyo but……?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*