बेलायतमा तमुधिं युकेको आयोजनामा १४औं नेपाली मेला भव्यताका साथ सम्पन्न
काठमाडौं । बेलायतमा तमुधिं युकेको आयोजनामा १४औं नेपाली मेलाको संस्करण भव्यताका साथ सम्पन्न भएको छ । लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार विभिन्न मौलिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला सम्पन्न भएको हो ।
‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित मेलामा कोरोना भाइरस महामारीपछि पहिलोपटक ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा करिब सात हजार दर्शक सहभागी थिए ।
नेपाली दूतावास लन्डनको सहकार्यमा भएको मेलामा बेलायतस्थित विभिन्न दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति, कला, परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनासहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टलमा पनि दर्शक रमाएका थिए ।
युकेभरी छरिएर रहेका भएका बिभिन्न संघ तथा जातीय संस्थाहरूले आ–आफ्नो ठाउँको कला, संस्कृति,रीतिरिवाज र पहिचान अनुसारको कार्यक्रममा भाग लिएर परिचय दिन सहयोग गरेको आयोजकले जनाएको छ । साथै, आयोजक तमुधिं युकेले निमन्त्रणालाई स्वीकार गरेर नेपाली मेलामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउने सम्पुर्ण बुवाआमा,दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद पनि व्यक्त गरेको छ ।