राष्ट्र बैंकले संसोधन गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास

१२ भाद्र २०८०, मंगलवार १३:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएको बताएका छन् ।

प्रतिनिधि सभामा भएको आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारत्मक दिशातर्फ उन्मुख रहेको बताए ।

‘राष्ट्र बैंकले लचिलो बजार नीतिअनुसार चालु कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । उत्पादनमुलुक उद्योगका लागि ३ करोडसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन नलाग्ने भएको छ’, प्रधानमन्त्रीले भने, ‘बैंकहरुले उद्योगरव्यवसाय वा कम्पनीहरुको सञ्चालन चक्र लगायतको आरधारमा अधिकतम वार्षिक कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा दिन सक्ने व्यवस्था भएको छ ।

यसबाट उद्योग व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनाका साथै आन्तरिक लगानी उत्पादन वृद्धि र बजारमा आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ ।’

नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले आर्थिक इन्डिकेटर सकारात्मक रहेको र भुक्तानी सन्तुलन राम्रै भए पनि अर्थतन्त्र अवरुद्ध अवस्थामा रहेको बताए । वैदेशिक सहयोग बढ्न नसकेको र आन्तरिक सहयोग बढाउनतर्फ सरकारको प्राथमिकता हुनु पर्ने भए पनि हुन नसकेको भन्दै सांसद राणाले बैंक वित्तीय क्षेत्रमा पैसा थुप्रिएको भए पनि साना तथा मझौला व्यवसायले ऋण नपाएको गुनासो गरेकोले अर्थव्यवस्थाको असन्तुलनलाई सम्बोधन गर्न सरकारका के कस्ता योजनामा छन् भन्दै प्रश्न गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*