बीमा प्राधिकरणद्धारा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्सलाई पुँजि बृद्धिको योजना पुनः पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्स कम्पनीलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न निर्देशन दिएको छ ।यसअघि दुबै कम्पनीले पेश गरेको क्यापिटल प्लान फेरिएर पटक पटक बीमा प्राधिकरणमा पत्र गएको हुँदा प्राधिकरणले पुनः क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको हो ।
नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीले नियामक निकायले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने सम्बन्धी यसअघिको क्यापिटल प्लान फेरिसकेका छन् । यी दुबै कम्पनीले पुँजि पुराउन कसरत गरिरहेपनि तोकिएको समयमा पुँजि पुराउन सकेको छैनन् ।
यी दुई कम्पनी कसरी पुँजि पुराउने भन्ने बिषयमा अन्यौल भईरहेको बेलामा नियामक नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी पुर्याउन नसकेका नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससँग ७ दिनभित्रमा पुँजी बृद्धि सम्बन्धी योजना पेश गर्न भनेको छ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्न निर्देशन दिएको थियो । सो बमोजिम बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ निधारण गरिदिएको थियो ।
अन्य कम्पनीहरुले पुँजि बृद्धिका मर्जर सम्बन्धी विधि अपनाएका थिए । त्यस मध्ये केहीले हकप्रद सम्बन्धी योजना बीमा प्राधिकरणमा पेश भई स्वीकृत भएर अघि बढेको अवस्था छ । पुँजि बृद्धि गर्नुपर्नेमा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको पुँजि बृद्धि गर्न सकेको छैन ।
नियामक निकाय नै लचक रहेर पटक पटक समय दिएपनि कम्पनीले वेवास्ता गरेको भन्दै प्राधिकरणले एक साताभित्र क्यापिटल प्लान पुनः पेश गर्न निर्देशन दिएको प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।
यसअघि पटक–पटक समय दिँदा पनि पुँजी पुर्याउन नसकेका उनीहरुलाई प्राधिकरणले आज एक हप्ताको समय दिएर योजना माग गरेको हो । यस पटकको पुँजि बृद्धि योजना अन्तिम हुनेछ ।
यस्तो छ नयाँ क्यापिटल प्लान
प्रभु इन्स्योरेन्स कम्पनीले विदेशी भेञ्चर भित्राउने वा हकप्रद शेयर जारी गर्ने भन्ने बिषयमा अन्यौल रहेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले भित्राउने भनेको विदेशी भेन्चर कम्पनीको विदेशतर्फको कुरा टुंगोमा पुगिनसकेकोले बाँकी रहेको छ । विदेशी भेन्चर कम्पनी ल्याउन नसकेको अवस्थामा मात्रै हकप्रदमा जाने प्रभुको सोचाई रहेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले भने आफनो साख जोगाउन सम्पत्ति बेचेर पुँजि पुराउने प्रस्ताव पेश गरेपनि कम्पनीको जग्गा बिक्रि नभएपछि पुनः बिक्रिमा राखेको छ । जुन बिषयको जानकारी बीमा प्राधिकरणमा दिइसकेको छ । कम्पनीले हकप्रद शेयर बिक्रि र डिभेञ्चर बिक्री नै विकल्पमा राखेको छ । बीमा कम्पनीहरुले नै कम्पनीको जग्गा लिने बिषयमा छलफल भएपनि मूल्य नमिल्दा कम्पनीले पटक पटक सूचना जारी गनुपरेको कम्पनीले जनाएको छ ।