लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?
काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको व्यवसाय गरेका छन् ।
हाल कम्पनीहरुसँग एउटा मात्रै पोलिसीहरु छन् । कारोबार शुभारम्भको लागि एउटा एउटा बीमा योजनामार्फत यी कम्पनीहरुले ७ करोड माथिको बीमा गराउन सफल भएका हुन् ।बीमा प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो ।
तीमध्ये चारओटाले कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् ।प्राधिकरणका अनुसार असारमा दुई लघु जीवन बीमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ बीमांक बराबरको २१९ ओटा बीमालेख जारी गरेका छन् ।
असारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १२७ ओटा बीमालेख जारी गरेर १ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भने ९२ ओटा बीमालेख जारी गरेर ६४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
लघु निर्जीवन बीमातर्फ असारमा दुई बीमा कम्पनीले ८० लाख रुपैयाँ बीमांक बराबरको तीनओटा बीमालेख जारी गरेका छन् ।
असारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी नेपालमा लघु बीमाले बीमा बजार थप विस्तार गर्न र पहुँच वृद्धिमा पनि सकारात्मक भूमिका खोल्ने बताएका छन् ।
संचालनमा आएको कम्पनीहरुमा सिंगल पोलिसी बिक्रि गर्दा नै बीमितहरुको आकर्षषण बढ्दो रहेको लघुबीमा कम्पनीहरुको बुझाई रहेको छ ।
लघुबीमा कम्पनीहरूको मुख्य लक्षित समूह निम्न आय भएको वर्ग भएकाले लघुबीमाबारे सचेतना आवश्यक भएको उनीहरु बताउँछन् ।
प्रविधिमैत्री भएको कारण पनि यो बीमाप्रति बीमितहरुको थप आकर्षण बढ्ने उनीहरुको धारणा रहेको छ।