दाबी भुक्तानी सरलीकृत हुँदा बीमाप्रतिको विश्वसनीयता थप बढ्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको दाबी भुक्तानी सरलीकृत हुँदा बीमा प्रतिको विश्वास थप बढ्ने बताएका छन् ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न एसपीआईएल–डिआइजीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
समयमा बीमा दाबी भुक्तानी गर्यो भने बीमितको विश्वास जित्न सक्नुका साथै बीमाको बजार बढाउन पनि मद्दत पुग्ने उनको भनाइ छ । ‘जनताले आशा र विश्वासले मात्र कम्पनीमा बीमा गर्छन्। दाबी गर्दा बीमितलाई कम्पनीले कहिले के डकुमेन्ट भएन र पुगेन भनेर बहाना गर्न थाल्यो भने कम्पनीप्रति विश्वास हुँदैन र अन्तिममा हारसमेत मानेर बीमितले दाबी भुक्तानीको लागि धाउन छाड्ने गर्छन्,’ उनले भने ।
हामीले बीमितको जोखिम किनेका हौ, पोलिसी लिएका बीमितहरुमा केही घटना भएपश्चात् हामीले छिटो छरितो सुविधा दिनुपर्छ । यो बिषयमा प्रिमियम इन्स्योरेन्सले झै अन्य कम्पनीहरुले पनि सोच्नुपर्ने बेला आएको उनले भने ।
प्राधिकरणले पनि अनलाईनबाटै बीमा गर्न मिल्ने र दाबीको प्रकृया सम्बन्धी योजना ल्याउदैछ । कम्पनीहरुले अझै पनि पुरानै शैलीमा चल्ने हो बीमा व्यवसाय पाँच बर्षपछि धकेल्ने उनको भनाई छ ।
मैले नेपालका धेरै ठूला पदाधिकारीले पनि पैसा नपाउने बीमा भनेको सुनेको छु, त्यो स्थिती अहिले छैन । बीमाको दाबी भुक्तानीले नै बीमा कम्पनीहरुले बीमितको मन जित्न सक्ने हुँदा यसतर्फ ध्यान दिन बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ ।
साथै उनले कार्यक्रममा जबसम्म प्रोडक्टलाई सस्तो बनाउन सक्दैनौ र सस्तो प्रोडक्टमै सुविधा प्लस गर्न सक्दैनौ तबसम्म्म बीमितहरुलाई आकर्षण गर्न नसक्ने बताउने त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।