माथिल्लो मैलुङ खोलाको साधारण शेयरको बिक्री खुल्ला अवधि थप, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

८ भाद्र २०८०, शुक्रबार १०:३२

काठमाडौं । माथिल्लो मैलुङ खोला जलुविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयरको समयावधि थप गरेको छ ।

कम्पनीले आफ्नो जारी पुजिँ १ अर्बको २५ प्रतिशतले हुन आउने २५ करोड रकम बराबर प्रतिशेयर अंकित मूल्य १०० का दरले २५ लाख कित्ता साधारण शेयरमध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही जारी पुँजिको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँको दरले १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रको स्थानीयवासीहरुलाई साउन ४ गतेदेखि भदौ १ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

तर, आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुबाट उक्त क्षेत्रमा अविरल वर्षाको कारण बाढी पहिरो, भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता कारणले यातायात सञ्चार अवरुद्ध भई तोकिएको संकलन केन्द्रमा दरखास्त फाराम बुझाउन समस्या परेको गुनासो आएपछि १५ दिन अवधि थप गरी भदौ १७ बैंकिङ समयसम्म शेयर निष्काशन तथा बिक्री खुला गरिने भएको छ ।

दरखास्त दिन इच्छुकले न्यूनतम १० कित्ता तथा अधिकतममा १० हजार कित्ता शेयरका लागि प्रतिकित्ता १०० को दरले आवेदन दिन सक्नेछन् । स्थानियले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*