जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढ्यो, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख धितोकर्जा २७ प्रतिशतले बढेको छ। बीमालेख धितोमा राख्ने बीमित अघिल्लो आर्थिक बर्षको तुलनामा थप वृद्धि भएको हो ।
अघिल्लो आर्थिक बर्षमा ६६ अर्ब रुपैयाँ बीमितले बीमालेख धितो कर्जा लिएका बीमितले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ८४ अर्ब ७९ करोड रुपैयाँ बीमालेख धितोकर्जा लिएको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांङ्कले देखाएको छ ।
बीमालेख धितोपत्र कर्जा प्रवाहमा नेपाल लाइफ अग्रस्थामा रहेको छ। कम्पनीको बीमा व्यवसाय पनि उच्च भएको कारण कम्पनीको बीमालेख धितोपत्र कर्जा प्रवाह बढी भएको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३० अर्ब ४५ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको हो ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २१ अर्ब रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा १० अर्ब माथि बीमा पोलिसी धितो राखेर कर्जा प्रवाह गरेको छ ।
हिमालयन लाइफकले ५ अर्ब ७१ करोडरुपैयाँ, एशियन लाइफले ४ अर्ब ७० करोड रुपैयाँ, सूर्यज्योतिले ३ अर्ब ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले २ अर्ब ८६ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५५ करोड रुपैयाँ र सानिमा रिलायन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा लगानी गरेका छन् ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड ४३ रुपैयाँ, आइएमई लाइफ ५० करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ,सन नेपाल लाइफले ४६ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ३० करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा लगानी गरेका छन् ।
कसरी पाइन्छ बीमालेख धितोकर्जा ?
बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार बीमालेख धितोकर्जा प्रवाह गर्नु पर्छ ।
यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्दछ । बीमा कम्पनीहरुले समर्पण मूल्य (सरेण्डर भ्यालु)का आधारमा बीमालेख धितोकर्जा प्रवाह गर्छन् ।
बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा तीन बर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । तीन किस्तासम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीबाट बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् ।
बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउदैनन् ।
प्राधिकरणले तोकेको प्रावधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ ।
बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तानी गर्न सकिन्छ ।
बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ ।
बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् । बीमालेख धितोमा एकै दिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नुपर्दछ ।
बीमालेख धितोकर्जा प्रवाहबाट प्राप्त व्याजआम्दानीलाई जीवन बीमा कोषमा जम्मा गरिन्छ । जुन बीमितहरुकै हितमा हुन्छ । अर्को तर्फ बैंक वित्तीय संस्थामा राखिएको निक्षेप आम्दानी भन्दा बीमालेख धितोकर्जा प्रवाहबाट प्राप्त आम्दानी अधिक हुन्छ । बीमा कम्पनीहरुले बैंक वित्तीय संस्थाबाट ६÷७ प्रतिशत व्याजदर हुँदा पनि बीमित सँग १० प्रतिशत लिने गरेका छन् । यस वर्ष बैंक वित्तीय संस्थाको व्याजदर बढेको भन्दै १२ प्रतिशत पुर्याएका छन् । जवकी पछिल्लो समय कुनै पनि बैंक वित्तीय संस्थाले बीमा कम्पनीले यति धेरै व्याज दिदैनन् ।