सन नेपाल लाइफको आइपीओमा साढे १५ लाख बढीको आवेदन, कतिको होला हात खाली ?
काठमाडौं । सन नेपाल लाइफको आइपीओमा १५ लाख ७७ हजार ७४४ जनाको आवेदन परेकोछ । साउन ३२ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता २३९ रुपैयाँको दरमा निष्काशन भएको सेयर सोमबार साँझ ५ बजे निष्काशन बन्द भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी ७६ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । यस आधारमा १० कित्ताका दरले ७ लाख ६० हजार आवेदकले मात्र कम्पनीको सेयर पाउने छन् ।
सोमबार सेयर निष्काशन बन्द भए पश्चातको तथ्यांक अनुसार १५ लाख ७७ हजार ७४४ वटा आवेदनबाट १ करोड ७८ लाख ३२ हजार ३०० कित्ता सेयर माग भएको हो ।
कम्पनीको सेयरमा आवेदन गरेका मध्ये ५१.८२ प्रतिशत अर्थात ८ लाख १७ हजार ७४४ जनाले सेयर पाउने छैनन् ।
इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि जारी गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार उक्त आइपीओमा आइतबार बेलुका ७ बजेसम्म १२ लाख २१ हजार १४२ जनाले आवेदन दिएका थिए । सोमबार मात्र साढे ३ लाखभन्दा बढीले उक्त सेयरमा आवेदन दिएका हुन् ।