पैसाको लागि आफ्नै श्रीमतीको हत्या- तर नाथु देवानको गोजी रित्तै, कहाँ गयो एक करोड दुई लाख ?

४ भाद्र २०८०, सोमबार १३:२२

काठमाडौं । बीमा रकमका लागि आफ्नै श्रीमतीको हत्या गराएका बाराका नाथु देवान गत साउन १ गतेदेखि नै तनावमा थिए । कारण थियो–पैसाको लागि श्रीमतीको हत्या गराउँदा पनि गोजीमा सुको थिएन । २०८० साल असार ३१ गते काठमाडौं आएर एशियन लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा बसेर एक करोड दुई लाख रुपैयाँको चेक (नक्कली) बुझेका नाथु देवानको गोजी त्यसपछि पैसाले कहिल्यै भरिएन । अर्थात श्रीमती हत्यापछि एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट आएको एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँ नाथु देवानले देख्न पनि पाएनन् ।

अब प्रश्न उठ्छ आखिर रकम कहाँ गयो ? के यो घटना साँच्चै हो त ? बीमापोष्टलाई प्राप्त एक भिडियोमा नाथु देवानले उक्त पैसा सबै एशियन लाइफका बीमा अभिकर्ता नासिर अन्सारी र कम्पनीका उच्च तहका कर्मचारी मिलेर सबै सेटिङमा अन्यत्र नै भुक्तानी गरेको बयान आफ्नै मुखबाट गरेका छन् ।

हालसम्म प्राप्त तथ्य अनुसार एशियन लाइफले नाथु देवानलाई एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँको डिस्चार्ज भौचर बनाएर हस्ताक्षर गराएपछि ८० लाख रुपैयाँ मात्रै उनको खातामा हालेको थियो भने २२ लाख ५६ हजार ५७५ रुपैयाँ बीमा अभिकर्ता नासिरको खातामा हालेको थियो । सो ८० लाख रुपैयाँ मध्ये नाथु देवानको गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कलैया शाखामा ऋण रहेको थियो । सो ऋण भुक्तानी गर्न एशियन लाइफले नाथु देवानसँग पहिले नै चेक काटेर ५० लाख रुपैयाँ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा पठाएर मात्रै उनको खातामा पैसा हालेको देखिएको छ । बाँकी रहेको ३० लाख रुपैयाँ समेत दुई बालकको १५–१५ लाखको बीमा गराई कूल ३० लाख रुपैयाँ बीमा कम्पनीमै फर्काइएको थियो । बीमा गर्नुपूर्व लिएको ऋणबाटै नाथुले श्रीमती र आफ्नो बीमा गराएका हुन् वा होइनन् भन्ने खुल्न बाँकी छ ।

श्रीमतीको हत्या गराई बीमाबाट प्राप्त रकम सबै एशियन लाइफले नै गोलमाल गरेपछि देवान भारतीय पेशेवर अपराधीलाई पैसा दिन नपाएर अप्ठेरोमा परेका थिए । भारतीय पेशेवर किलरहरुले हजरा खातुनको हत्या बापतको थप रकम माग्न थालेका थिए । हत्याराहरुले ठूलो रकम आएको भन्ने सूचना पाएपछि नाथु देवानसँग थप रकम माग गरेको र उनीहरुलाई दिने पैसा नभएपछि दुई छोराको बीमा गरेको र उनीहरुलाई पनि मार्ने र पैसा आएपछि भारतीय अपराधीलाई पहिले नै चेक काटिदिने नाथु देवानले भन्ने गरेको खुलेको छ ।  उता, बीमा अभिकर्ता नासिर अन्सारीले लिएको २२ लाख ५६ हजार ५७५ रुपैयाँ रकम हजरा खातुनको हत्यामा सापटी खोजेर दिएको पैसा तिर्न र बीमा कम्पनीभित्र सेटिङ मिलाउन तथा प्रहरीलाई दिन खर्च भएको बुझिएको छ । यसको स्वतन्त्र पुष्टि हुन र अभियोग प्रमाणित हुन बाँकी छ ।

बीमा गर्नुअघि एशियन लाइफकै सिईओ आमन्त्रित सञ्चालकको रुपमा उपस्थित हुने गरेको गुहेश्वर मर्चेन्ट बैंकबाट ऋण दिनु, बीमा गरेपछि बीमाको पैसा आफ्नै बैंकमा हाल्न सेटिङ मिलाउनु र बीमा अभिकर्ताको खातामा बीमितको मृत्यु बापतको रकम भुक्तानी गर्नुले हजरा हत्या काण्डमा प्रत्यक्षमा एशियन लाइफका उच्च पदस्थ कर्मचारीहरुको संलग्नता रहेको खुल्न आएको छ । यद्यपि एशियन लाइफमाथि नियामक निकाय नेपाल बीमा प्राधिकरणले कुनै कारवाही गरेको भने छैन । बीमाकै लागि महिलाको हत्या र बीमा दावी भुक्तानीमा कम्पनीले गरेको खेलाची र सेटिङबारे बीमा प्राधिकरणले थाहा पाएर पनि आँखा चिम्लदै आएको छ ।

One thought on “पैसाको लागि आफ्नै श्रीमतीको हत्या- तर नाथु देवानको गोजी रित्तै, कहाँ गयो एक करोड दुई लाख ?

  1. Gehendra paudel says:

    कति लाखको बिमा हो कति अबधि भयो बिमा गरेको कहिले मृत्यु भयो सबै अपुष्ट समाचार भयो। पैसामा मात्रै केन्द्रित भएर समाचार बनाउनु राम्रो होइन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*