सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा १२ लाख बढीको आवेदन
सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेको आईपीओमा तेश्रो दिनसम्ममा १२ लाख भन्दा बढिको आवेदन परेको छ । आज साँझ ५ः०६ बजेसम्ममा १२ लाख २१ हजार १४२ आवेदकबाट एक करोड ३१ लाख ५३ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले कुल जारी पूँजी ३ अर्ब २० रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम मूल्य सहित २३९ रुपैयाँका दरले ९६ लाख कित्ता शेयर निष्काशमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेका ९६ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० रुपैयाँ पुग्नेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओमा भोलि अथवा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता २३९ रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।