अभिकर्ता कमिशन १६ प्रतिशतले घट्यो, व्यवस्थापकीय पाटोको कारण मर्जरमा गएका कम्पनीमा बढी प्रभाव, छिट्टै रिकभर हुन्छः अध्यक्ष अधिकारी

काठमाडौं । जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन अघिल्लो आर्थिक बर्षको तुलनामा १६ दशमलव ९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको १५ अर्ब १४ करोड रुपैयाँ अभिकर्ता कमीशन छुटाएको बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा १२ अर्ब ५८ करोड रुपैयाँ अभिकर्ता कमीशनमात्रै छुटाएको छ ।
आर्थिक मन्दीको प्रभाव बीमा बजारमा पनि प्रत्यक्ष परेको देखिएको छ । नेपाल पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदार अधिकारीले बजारमा देखिएको तरलता र मर्जरका कारण यस्तो कमिशन घटेको बताएका छन् ।
आर्थिक बिषम परिस्थितीकाबीच पनि अभिकर्ता कमीशन १६ प्रतिशतले घट्नु स्वभाविक नै रहेको उनको भनाई छ । मर्जरमा गएका कम्पनीहरुको अभिकर्ता कमिशन घट्नुमा व्यवस्थापकीय पाटो रहेको उनले बताए ।
मर्जरमा नगएका कम्पनीहरुको अभिकर्ता कमीशन १५ प्रतिशत मुनि नै घटेको देखिएको छ भने मर्जरमा गएका कम्पनीहरुको कमिशन १५ प्रतिशतमाथि घटेको छ ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारेको तथ्यांक
मर्जरमा गएका जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशन सर्वाधिक घट्यो
मर्जरमा गएका कम्पनीहरुको अभिकर्ता कमीशन अघिल्लो आर्थिक बर्षको तुलनामा अन्य कम्पनीहरुको तुलनामा सर्वाधिक घटेको छ।
अघिल्लो आर्थिक बर्षको तुलनामा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता कमीशन ५७ प्रतिशतले घटेर २८ करोड ३७ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले ६६ करोड ६७ लाख रुपैयाँ अभिकर्ता कमीशन रकम छुटाएको थियो ।
दोस्रोमा सानिमा रिलायन्स लाइफको ४८ प्रतिशतले घटेर ४३ करोड ५७ लाख रुपैयाँमा अभिकर्ता कमीशन सिमित भएको छ। अघिल्लो आर्थिक बर्षको ८४ करोड ५० लाख रुपैयाँ छुट्याएको थियो ।
हिमालयन लाइफको २७ प्रतिशतले घटेर १ अर्ब ४१ करोड रुपैयाँमा सिमित भएको छ।
अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ अभिकर्ता कमीशन वापत बुझेका थिए । सूर्या ज्योति लाइफको अभिकर्ता कमीशन १७ प्रतिशतले घटेर ९१ करोड ६६ लाख रुपैयाँमा सिमिति भएको छ ।
अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ अभिकर्ता कमीशनमा खर्चिएको थियो ।
अभिकर्ता कमिशन कुन कम्पनीको कति ?
चालु आर्थिक बर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । यस त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने कम्पनीहरुले नै अभिकर्ता कमीशन धेरै दिएका छन् ।
कम्पनीमा व्यवसाय धेरै दिएछि कम्पनीको कमीशन स्वत बढी नै हुन्छ । सो आधारमा नेपाल लाइफ, नेशनल लाइफ र एलआईसी नेपाल अभिकर्ता कमीशनमा अग्रस्थानमा रहेका छन् ।
नेपाल लाइफले चौथौ त्रैमासको अवधिसम्ममा ३ अर्ब १० करोड रुपैयाँ अभिकर्ता कमीशनका लागि छुटाएको छ ।
नेशनल लाइफले १ अर्ब ५७ करोड रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ४३ करोड रुपैयाँ अभिकर्ता कमीशन दिएको कम्पनीहरुले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।
चौथौ त्रैमाससम्ममा अभिकर्ताहरुले हिमालयन लाइफले १ अर्ब ४१ करोड रुपैयाँ सूर्या ज्योति लाइफले ८१ करोड ६६ लाख रुपैयाँ, सिटिजन लाइफले ७१ करोड रुपैयाँ, एशियन लाइफले ७१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ५० करोड रुपैयाँ अभिकर्ता कमीशन बुझेका छन् ।
त्यस्तै, मेट लाइफले ४७ करोड ६८ लाख रुपैयाँ, आइएमई लाइफले ४६ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४३ करोड ५७ लाख रुपैयाँ, सन नेपाल लाइफले ३४ करोड ६६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २८ करोड ३७ लाख रुपैयाँ र राष्ट्रिय बीमा सस्थानले १८ करोड २४ लाख रुपैयाँ अभिकर्ता कमीशन बुझेका छन् ।
विशेष गरी जीवन बीमा कम्पनीमा तीन तहको अभिकर्ता रहेको पाइन्छ । अभिकर्ताभन्दा ठुलो युनिट म्यानेजर र उभन्दा पनि ठुलो एजेन्सी म्यानेजर । नयाँ बीमा पोलीसीमा पाइने कमिसन आयको निश्चित हिस्सा यो तीन तहका कर्मचारीबीच नेटवर्किङको रुपमा बाँडफाँड हुँदै आएको छ । अभिकर्ताले ल्याउने नयाँ बीमा पोलिसिबाट उसले प्राप्त गर्ने कमिसनको प्राधिकरणको नियम अनुसार केही प्रतिशत युनिट म्यानेजरले स्वतः प्राप्त गर्छ ।
त्यस्तै, अभिकर्ता हुँदै युनिट म्यानेजरमा आउँने पोलिसीको आकर हेरेर कम्पनीको नियम अनुरुप केही प्रतिशतसम्म एजेन्सी म्यानेजरले स्वतः पाउने गर्दछ ।
यस्ता म्यानेजरको बार्षिक कमाई ३ करोडसम्म हुने गरेको स्रोतहरु बताउँछन् । यो तलब भनेको बीमा कम्पनीको प्रमुख मात्र नभएर वाणिज्य बैंकहरुका प्रमुखहरुले पाउँदै आएको तलबभन्दा पनि धेरै हो ।
बीमा अभिकर्ताले बीमा कम्पनीको तलबी कर्मचारी नभइ कमिशनको आधारमा बीमा कम्पनीको तर्फबाट गर्छन् । जीवन बीमा अभिकर्ताले पहिलो वर्ष प्रिमियमको २ देखि २५ प्रतिशत, दोस्रो वर्ष २ देखि १५ प्रतिशत कमिसन पाउने व्यवस्था छ ।
बीमा अभिकर्ताले कति पाउछन्, कमिशन ?
अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ ।
निर्जीवन बीमामा पनि अग्नी बीमा अन्र्तगत १२ प्रतिशत र अन्य बीमामा १५ प्रतिशत कमिशन प्राप्त हुन्छ । अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याको आधारमा निर्धारण हुन्छ ।
अभिकर्ता पेशा पूर्णकालीन वा पार्टटाईमको रुपमा काम गर्न सकिने र स्वतन्त्र रुपमा काम गर्न पाईने भएपछि यो पेशा अपनाउन खोज्नेहरुको आकर्षण रहेको पाइन्छ ।
बीमा प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा अन्र्तगत अभिकर्ताका लागि अनुमतिपत्र लिनेको संख्या २ लाख ३६ हजारको हाराहारीमा रहेका छन् ।