नेपाल लाइफको उत्कृष्ट नतिजा, एक खर्ब ६३ अर्बको जीवन बीमा कोष, मुनाफामा उच्च बृद्धि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक अर्थात बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले उत्कृष्त नतिजा ल्याउन सफल भएको छ । यद्यपि बीमाको बजार फराकिलो पार्न अझै थप मेहनत गर्नुपर्ने अवस्था पनि देखिएको छ ।
गत आवको बार्षिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा एक खर्ब ६घ ८२ करोड रुपैयाँ संचिती रहेको छ । त्यस्तै, जगेडा कोष र महाविपत्ति कोष सहित कूल कोषका आकार एक खर्ब ६५ अर्ब पुगेको छ । अघिल्ले आवको यसै अवधीमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब ३६ अर्ब रुपैयाँ संचित रहेको थियो । कम्पनीको जीवन बीमा कोष १९.७६ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुको बलियोपना मापन गर्ने मुख्य आधार जीवन बीमा कोष हो ।
गत आवमा कम्पनीको खुद बीमा शुल्क आम्दानी सामान्य अंकले बृद्धि भई ३४ अर्बबाट बढेर ३६ अर्ब ६२ करोड नाघेको छ । त्यस्तै खुद दावी भुक्तानी ८.९५ प्रतिशतले बृद्धि भई १४ अर्बबाट १५ अर्ब ४३ करोड नाघेको छ ।
समीक्षा अवधीमा कम्पनीको मुनाफा झण्डै ३०० प्रतिशतले बृद्धि भएको छ । गत आवमा नियामकीय व्यवस्थाका कारण फ्युचर बोनस प्रोभिजनको कारण ३५ करोड घाटामा रहेको कम्पनी गत आवको बार्षिक वित्तिय विवरणमा ६७ करोड ४४ लाख ३५ हजार ८२९ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीको मुनाफामा व्यवसाय बृद्धि र कुशल व्यवस्थापनको कला वित्तिय विवरणमा झल्किएको छ । कम्पनीले कर्जा लगानी तथा अन्यबाट प्राप्त आम्दानी २६.७० प्रतिशतले बृद्धि भएको छ । डेढ खर्बभन्दा बढि जीवन बीमा कोष रहेको कम्पनीले सही र योजनाबद्ध लगानी नीति लिएका कारण आम्दानी १२ अर्बबाट बृद्धि भई १५ अर्ब ८४ करोड नाघेको छ । यही कारण कम्पनीको मुनाफा र जीवन बीमा कोष दुवै उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । त्यस्तै, व्यवस्थापन खर्च सामान्य अंकले बृद्धि भई दुई अर्ब ४३ करोडबाट बढेर दुई अर्ब ५३ करोड पुगेको छ ।
त्यस्तै, अभिकर्तालाई दिने कमशिन ११.९८ प्रतिशतले घटेको छ । अघिल्लो आबमा तीन अर्ब २९ करोड रुपैयाँ कमिशन दिएको कम्पनीले गत आवमा तीन अर्ब १० करोड रुपैयाँ कमिशन बापत विरण गरेको छ ।
कम्पनीको हालसम्म कायम बीमा पोलिसी संख्या २२ प्रतिशतले घटेर १४ लाख २१ हजार ८९७ बाट घटेर ११ लाख पाँच हजार ३६५ वटामा झरेको छ ।