राष्ट्रिय बीमा कम्पनीमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, सबै आन्दोलन अन्त्य
काठमाडौं । कर्मचारी बिनियमावलीमा उल्लेख भएका सेवा सुविधाहरु लागू गर्नुपर्ने माग गर्दै गत साउन १ गतेदेखि आन्दोलनरत राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच आज सहमति भएको छ । सहमतिसँगै आजैबाट आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।
राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्यक्षले कर्मचारीहरुले उठाएका जायज मागहरु क्रमशः पुरा गर्दै जाने सहमति भएको बताए । कर्मचारीहरुले माग गरेका मागहरु मध्ये पुरा हुन सक्ने माग जति राष्ट्रिय बीमा कम्पनीबाटै पूरा गर्ने र अर्थमन्त्रालयमा पठाएर अल्झिएको माग केही दिनभित्रैमा पहल गरेर पास गरी आवश्यक प्रक्रिया पूरा गरेर लागू गर्ने सहमति भएको छ ।
सहमतिसँगै तत्कालको लागि सबै प्रकारको आन्दोलन अन्त्य भएको छ । आजदेखि कम्पनीमा सौहर्द रुपमा काम सुरु भएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । कम्पनीमा कार्यरत कर्मचारीहरुले प्रशासनिक कार्य अबरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए ।
यस्ता छन् सहमतीका बुँदाहरु
बाँकी रहेको लेखापरीक्षणलाई २०८१ साल चैत मसान्तसम्ममा अद्यावधिक गरिनेछ। सो कार्य सम्पन्न गर्न क्रियाशील ट्रेड युनियन एवं सम्पूर्ण कर्मचारीको पूर्ण सहयोग रहनेछ।
कम्पनीको प्रधान कार्यालय रहेको जग्गा प्राप्तिलाई तीव्रता दिई भवन निर्माणको कार्यलाई तीव्रता दिइनेछ।
कम्पनीका कर्मचारीको क्षमतावृद्धिका लागि तालिम कार्यविधिलाई व्यवस्थित गर्न २ महिनाभित्र तालिम तथा सेमिनार कार्यविधि तर्जुमा गरी सञ्चालक समितिको स्वीकृतिमा लागू गरिनेछ।
कम्पनीको महत्वपूर्ण रणनीतिक तथा व्यवस्थापकीय निर्णय प्रक्रियामा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिलाई आवश्यकताबमोजिम सहभागिता गराइनेछ।
कम्पनीको संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्यलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ।
कम्पनीको भौतिक संरचनामा आवश्यक सुधार गरी यथाशीघ्र उपयुक्त वातावरण सिर्जना गरिनेछ।
कर्मचारी विनियमावलीमा उल्लेख भएका कार्यविधिहरुलाई आवश्यक प्रक्रिया पूरा गरी ३० दिनभित्र कार्यान्वयनमा ल्याइनेछ।
कर्मचारी विनियमावलीमा उल्लेख भएका विनियमावलीलाई संचालक समितिसँग कार्यान्वयन गर्न ट्रेड युनियनका प्रतिनिधिलाई समेत सहभागी गराइनेछ।
कर्मचारीको मागका सम्बन्धमा सञ्चालक समितिबाट मिति २०७९ मंसिर १८ मा भएको निर्णयअनुसार गठित सञ्चालक समितिको संयोजकले दिएको प्रतिवेदनलाई यथाशीघ्र अगाडि बढाई २०८० साल चैत मसान्तभित्र कार्यान्वयनमा ल्याइनेछ।
कर्मचारी ट्रेड युनियनका जारी सम्पूर्ण आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको छ।