नेपाल बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, अख्तियारदेखि अर्थमन्त्रीसम्म आँखा चिम्लदै

२१ श्रावण २०८०, आईतवार १५:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गैर कानुनी व्यक्ति अध्यक्षको भूमिका कार्यरत रहेका छन् । २०८० साल साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गरेकोले नेपालको प्रचलित अभ्यास, प्रथा र चलन अनुसार नेपाल सरकारका पूर्व सचिव सुर्य प्रसाद सिलवालको बीमा प्राधिकरणमा उपस्थिति गैर कानुनी भएको हो ।

हरेक देशको संविधानको स्रोत चलन, प्रथा अभ्यास हुन्छ । नेपालको सार्वजनिक सेवामा कुनै पनि व्यक्ति ६५ वर्ष उमेर पुगेपछि पदमा बसेका छैनन् । यो निजामती क्षेत्रमा गरिएको नेपालको ऐतिहासिक अभ्यास समेत हो । तर, यिनै प्रथा, चलनलाई लत्याउँदै नेपाल बीमा प्राधिकरणमा गैर कानुनी व्यक्तिले अध्यक्षको भूमिका कार्य गरिरहेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको तीन थरी नागरिकता भएको तथ्य बीमापोष्टले फेला पारिसकेको छ । शैक्षिक प्रमाणपत्रमा र सुरुवातको नागरिकतामा २०१५ साल साउन १६ गते जन्म मिति भएका सूर्य सिववालले आफ्नो नागरिकता तीन पटक सच्याउँदै अन्तिम पटक २०१६ साल कार्तिक २२ गते जन्म मिति भएको नागरिकता धारण गरेका छन् । तर, उनको राहदानीमा जन्म मिति २०१८ साल कार्तिक २४ गते रहेको छ ।

नेपाल सरकारको सचिव हुँदा गृह मन्त्रालय हुँदै उद्योग मन्त्रालयबाट ५८ वर्षे अवकास लिएका सिलवालले अन्तिम दिन २०७३ साल साउन १५ गते उद्योग मन्त्रालयबाट विदा भएका थिए । उनको नागरिकतामा जन्म मिति २०१६ साल कार्तिक २२ गते रहेकोमा नागरिकता अनुसार ५८ वर्ष पुग्नु एक वर्षअघि नै अनिवार्य अवकासमा पठाएको थियो । २०६९ साल असार २८ गतेको मन्त्रिपरिषदको बैठकको निर्णयबाट सचिव पदमा बढुवा भएका सुर्य सिलवाल २०७४ साल असार २७ गतेसम्म सचिव पदमा बहाल रहन पाउने थिए । तर, उनको कीर्ते गरी सच्याएको नागरिकतालाई तत्कालिन उद्योग मन्त्रालयले मान्यता दिएन र शैक्षिक प्रमाणपत्रमा आधारित जन्म मितिका आधारमा २०७३ साल साउन १५ गतेबाट अनिवार्य अवकास पाएका थिए ।

अहिले सिलवाल आफ्नो नागरिकताको आधारमा ६५ वर्ष पुग्न बाँकी रहेको दावी गर्दै आएका छन् । कर्मचारी किताब खानाको रेकर्ड अनुसार पनि सिलवालले यही साउन १६ गतेदेखि बीमा प्राधिकरणको अध्यक्षको भूमिका गैर कानुनी हो ।
नेपाली कांग्रेसकी नेतृ आरजु राणाको विश्वासपात्र सूर्य प्रसाद सिलवाललाई अर्थमन्त्री डा. प्रकाशशरण महतले हटाउन नसक्ने भन्दै हात उठाएको विश्वस्त सूत्रले बीमापोष्टलाई जनाएको छ । आफ्नै मातहतमा ६५ वर्ष नाघिसकेको व्यक्ति गैर कानुनी रुपमा नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा कार्यरत रहेको बारेमा अर्थमन्त्रालयले केही बोल्न चाहेको छैन । अर्थ मन्त्रालयका प्रबक्ता धनिराम शर्माले केही बताउन चाहेनन् ।

उता, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय समेत यस विषयमा मौन रहँदै आएको छ । आयोगका प्रमुख आयुक्त प्रेम राई र सूर्य सिलवालको सम्बन्ध नङ–मासुको जस्तै भएकोले कुनै कारवाही हुन नसक्ने चर्चा बीमा क्षेत्रमा चलिरहेको छ ।

One thought on “नेपाल बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, अख्तियारदेखि अर्थमन्त्रीसम्म आँखा चिम्लदै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*