लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत जनाएका छन् ।
लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताएका छन् ।
प्रधामन्त्री प्रचण्डले भने– ’छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र क्षति पनि ।’
आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षण गराएका छन् । प्रधामन्त्रीले बैठकमा भने–’अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।’
चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने उल्लेख गरेका छन् ।
लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउदै प्रधानमन्त्री प्रचण्डले भने –’गाई भैसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठुलो समस्यामा पारेको छ । किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ । ’
किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।
लम्पी स्किन रोग नियन्त्रणका लागि खोप को प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरुमा सचेतना फैलाउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।
उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, गणेश पाण्डे, रामप्रसाद थपलिया, कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल र सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आइजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।