८ महिना अघि नै मन्त्रिपरिषदबाट अस्वीकृत भएको थियो सुर्य सिलवालको पदावधि चार वर्ष कायम गर्ने प्रस्ताव, आजदेखि सिलवालको वैधानिकता कति ?

१६ श्रावण २०८०, मंगलवार १२:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको आजदेखिको पदावधि के हुने अन्योलताकै बीचमा ८ महिना पहिले नै पदावधी चार वर्ष कायम गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको बैठकले अस्वीकृत गरिदिएको खुलेको छ । मन्त्रिपरिषदको निणर्यको प्रतिलिपिमा सूर्य सिलवालको पदावधी चार वर्ष कायम गर्नुपर्ने भन्ने सम्बन्धी अर्थ मन्त्रालयको प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गर्दै पूर्ववत रुपमा तोकिएको पदावधी नै कायम हुने भनि अर्थ मन्त्रालयको प्रस्ताव नै अस्वीकृत गरिएको भेटिएको छ ।

बीमापोष्टलाई प्राप्त नेपाल सरकार मन्त्रिपरिषदको २०७९ मंसिर २० गतेको निर्णय र त्यसअघि २०७९ मंसिर १३ गते तत्कालिन अर्थसचिव कृष्णहरि पुस्करले मन्त्रिपरिषदमा पेश गरेको फाइलबाट समेत नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको पदावधी आजबाट गैर कानुनी हुने तथ्यले पुष्टि गरेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयले सुर्य सिलवालको पदावधी चार वर्षको लागि नभई हिजो अर्थात २०८०।०४।१५ गतेसम्म मात्र भएकोले २०७७।१०।१९ गतेबाट लागू हुने गरी चार वर्ष कायम गर्ने सम्बन्धमा तत्कालिन अर्थ सचिव कृष्णहरि पुस्करले नेपाल सरकार मन्त्रिपरिषदमा सिफारिस गरेका थिए । पुस्करले २०७९।०८।१३ गते निणर्य गराई मन्त्रिपरिषदमा दर्ता गरेको प्रस्ताव नं २/७६-०७९।०८।१३ को प्रस्तावमाथि नेपाल सरकार मन्त्रिपरिषद बैठक सं ३०।०७९ मिति २०७९।०८।२० मा कुनै निर्णय नगरी उल्टै उमेर हद सम्बन्धी निणर्य प्रचलित अनुसार नै हुने भनि निर्णय गरिएको थियो । सो निर्णय तत्कालिन मुख्यसचिव शंकरदास बैरागीले प्रमाणिकरण गरेका छन् ।

 

 

चार वर्ष पदावधी कायम गर्ने प्रयास असफल भएपछि अध्यक्ष सिलवालको लागि वर्तमान प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको सरकारको पालामा अर्थमन्त्री बनेका विष्णु पौडेलले पुनः म्याद थप गरी चारवर्ष कायम गर्न खोजेको थिए । तर, दोस्रो पटकको प्रयासमा अर्थमन्त्रालयकै कर्मचारीहरुले टिप्पणीमा हस्ताक्षर गर्न नमानेका कारण रोकिएको र प्रयास गर्दागर्दै आजबाट समय गुज्रेको छ । दोस्रो प्रयास अर्थबाटै अघि बढाउन नसकी असफल भएपछि बीमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालको पदावधी अर्थमन्त्रालयको रेकर्डमा कायम रहेकै हुने अवस्थामा पुग्यो । पदावधी थप नहुने भएपछि अध्यक्ष सिलवालले एक पटक राजिनामा गर्न लागेको भन्दै हल्ला पनि चलेको थियो ।

अर्थ मन्त्रालयले के आधारमा सुर्य प्रसाद सिलवालको पदावधी साउन १५ कायम भयो भन्ने सम्बन्धमा आधिकारिक व्यक्तिले कुनै जवाफ दिन चाहेका छैनन् । साथै अर्थमन्त्रालयले पदावधी थप गर्न मन्त्रिपरिषदमा पुर्याएको प्रस्ताव नै अस्वीकृत भएकोले आजदेखि काम गर्न मिल्ने कि नमिल्ने भन्ने सम्बन्धमा पनि कुनै जवाफ दिन चाहेनन् । अर्थ मन्त्रालयका प्रबक्ता धनिराम शर्माले भने, यस विषयमा मैले बुझ्नुपर्छ, अहिले यत्तिकै भन्न सक्दिन । शर्माले सुर्य प्रसाद सिलवालले आजदेखि काम गर्न पाउने कि नपाउने भन्ने सम्बन्धमा पनि कुनै जवाफ दिएनन् ।

उता, नेपाल बीमा प्राधिकरणमा अध्यक्ष सिलवाल विहान ९ः४५ बजे नै कार्यालयमा हाजिर भएका छन् । बीमा प्राधिकरणका अनुसार अर्थ मन्त्रालयले कुनै पत्र पठाएर म्याद थप वा पदावधी सकिएको जानकारी गराइएको छैन ।
३० वर्षसम्म सरकारी सेवामा बिताएका सिलवाल भूतपूर्व गृहसचिव हुन् । उनले गृह सचिव भएकै बेला आफ्नो नागरिकतामा जन्म मिति सच्याएका थिए । त्यसअघि उनको कर्मचारी सिटरोलमा जन्म मिति २०१५।०४।१६ रहेको जनाइएको छ । यद्यपि सो विवरणबारे बीमापोष्टले स्वतन्त्र पुष्टि गर्न बाँकी छ । सोही आधारमा अर्थ मन्त्रालयले साउन १५ गते अन्तिम दिन भनेर विवरण राखेको बुझिएको छ ।

सुर्य प्रसाद सिलवालको पदावधीबारे मन्त्रिपरिषदले अर्थमन्त्रालयको प्रस्ताव नै अस्वीकृत गरिसकेपछि उनको पदावधी अब के हुन्छ ? यसबारे अहिले नै भन्न सकिने अवस्था छैन । अब अर्थमन्त्रालयले थप निर्णय गरेर यसको औपचारिक निकास दिनसक्नेछ । त्यस्तै, अदालतमा मुद्दा परेको अवस्थामा पनि सूर्य प्रसाद सिलवालको पदावधी सम्बन्धी विषय टुंगो लाग्नेछ । अन्यथा नियुक्त हुँदाको फाइल तथा अन्य विवरणहरुको जगमा टेकेर मन्त्रिपरिषदले छानविन समिति गठन गरेमा अध्यक्ष सिलवाल स्वतः निलम्वनमा पर्नेछन् ।

प्रचलित कानुनको सबैभन्दा ठूलो स्रोत चलन चल्ती, प्रथा र परम्परा हुन्छ । त्यसपछि अन्यको पालो आउँछ । नेपालमा हालसम्मको प्रचलित कानुन अनुसार ६५ वर्ष पुरा गरेको जोसुकै व्यक्ति सरकारी नियुक्तमा सार्वजनिक पदमा रहन अयोग्य हुन्छ । मन्त्री र प्रधानमन्त्रीमा त्यो प्रचलन छैन । तर, मुख्यसचिव मात्रै होइन प्रधान न्यायाधिश समेत ६५ वर्ष पुगेकै दिन पदावधी सकेर घर जाने प्रचलन रहीआएको छ । विवाद नै विवादका बीचमा साढे दुई वर्ष गुजारेका सुर्य प्रसाद सिलवालले मन्त्रिपरिषदबाट अस्वीकृत भएको निणर्यको सम्मान गर्दै घर जाने कि कुर्सी टाँसिइरहने यसैमा उनको नैतिकता, पदलोलुपता र इमान्दारिता झल्किनेछ ।

 

बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको पदावधि आजबाट समाप्त !, अर्थमन्त्रालयको रेकर्ड भन्छ, २०८० साउन १५ गते अन्तिम दिन

 

One thought on “८ महिना अघि नै मन्त्रिपरिषदबाट अस्वीकृत भएको थियो सुर्य सिलवालको पदावधि चार वर्ष कायम गर्ने प्रस्ताव, आजदेखि सिलवालको वैधानिकता कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*