देशैभरि इन्धन भण्डारण डिपो बनाउँदै आयल निगम, पोखरामा हवाई डिपोको उद्घाटन

१ श्रावण २०८०, सोमबार १६:३६

काठमाडौं । नेपाल आयल निगमले देशैभरि इन्धन डिपोहरु बनाउने कार्यलाई तीव्रता दिने जनाएको छ । आज गण्डकी प्रदेशको राजधानी पोखरामा हवाई इन्धन डिपोको उद्घाटन गर्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले झापामा क्रस बोर्डर पाइप लाइन, अमलेखगन्जदेखि चितवनको थोथरसम्म आन्तरिक पेट्रोलियम पाइल लाइन निर्माण गरिने देखि अन्य विभिन्न स्थानमा डिपो बनाउने योजनाहरु सार्वजनिकगरेका छन् ।

पोखरामा आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक थानीले भने, ‘संस्थागत विकास, वित्तीय स्थायित्त्वको लागि नेपाल सरकारको नीति तथा कार्यक्रम,पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न विभिन्न समयमा गठित संसदीय अध्ययन तथा सुझाव समितिले दिएको सुझाव तथा विगतका विभिन्न अध्ययन प्रतिवेदनको सिफारिस समेतका आधारमा निगम सञ्चालक समितिबाट स्वीकृत भएको “पेट्रोलियम पदार्थ स्वचालित मूल्य कार्यविधि,२०८०” बमोजिम अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य कायम गर्ने गरी २०८० असार ३१ गते देखि स्वचालित मूल्य प्रणाली लागु गरिएको व्यहोरा अवगत गराउन चाहान्छु।

स्वचालित मूल्य प्रणालीको कार्यान्वयनसँगै अब अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा कार्यविधि बमोजिम घटबढ हुनेछ । पेट्रोलियम पदार्थको सहज, सरल र सुव्यवस्थित ढंगले निरन्तर आपूर्ति एवं वितरणको व्यवस्था गर्न र आम उपभोक्ताहरुको हित सुनिश्चित गर्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीले अहम भूमिका निर्वाह गर्ने र यहाहरु सम्पूर्णको साथ एवं सहयोग सदैव रहने विश्वास निगमले लिएको छ ।

निगमका कार्यकारी निर्देशक थानीले भने, ‘निगमको आधुनिक पूर्वाधार निर्माणमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूको भारत भ्रमणका क्रममा भारत सरकारको लगानीमा पेट्रोलियम पाइपलाइन र ग्रीन फिल्ड टर्मिनल बनाउने समझदारी भएको व्यहोरा अवगत गराउन चाहान्छु । नेपाल र भारत सरकार बीच भएको समझदारी अनुसार करिब ५ वर्षको अवधिमा परियोजना सम्पन्न गर्ने गरी भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण हुने र मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको छ । साथै चितवनको लोथरमा १ लाख ३ हजार १५० किलोलिटर क्षमताको नयाँ ग्रिनफिल्ड टर्मिनल निर्माण गरिने व्यहोरा जानकारी गराउन चाहान्छु । यी पूर्वाधारहरुको निर्माणले दीर्घकालीन रूपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुने विश्वास निगमले लिएको छ ।

निगमले आजै पोखरामा देशकै महत्वपूर्ण डिजल भण्डारण सुरुवात गरेको छ । कास्की जिल्लाको गगनगौडामा निर्माण हुने इन्धन डिपोको निर्माणले निकै महत्वपूर्ण योगदान पुग्नेछ । ‘यी भण्डारण ट्याङ्कीहरूको निर्माण कार्यमा निगमका पदाधिकारी तथा कर्मचारीहरु र संस्थाहरूको विशेषज्ञता र सहयोगको एक स्मारकीय उपक्रमको रुपमा खडा भएको छ । योजनाको तर्जुमा देखि सटीक कार्यान्वयनसम्म, प्रत्येक चरणमा समर्पित टोलीको विशेषज्ञता र प्रतिबद्धताद्वारा निर्देशित यस परियोजनामा योगदान पु(याउने सबै सरोकारवाला निकायहरु त्रिभुवन विश्वविद्यालय इन्जिनियरिंग अध्ययन संस्थान, काठमाण्डौ विश्वविद्यालय परामर्श सेवा, निर्माण व्यवसायी समानान्तार-रेलिगियर- भारत ट्यांकस जे।भी र नेपाल आयल निगम परिवार लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरुको कडा परिश्रम, दृढ संकल्प र अटल भावनाले हामीलाई यो गौरव र उपलब्धिको क्षणमा ल्याएको छ । पोखरा डिपोमा निर्माण सम्पन्न भएका नयाँ इन्धन भण्डारण ट्याङ्की तथा पूर्वाधारहरू डिपो सुरक्षा, संस्थागत दिगोपन र दक्षताप्रति हाम्रो अटल प्रतिबद्धताको प्रमाण रहेको व्यहोरा अवगत गराउन चाहान्छु।यी अत्याधुनिक सुविधाहरूले नवीनतम प्रविधिहरू आत्मसात गर्दै उच्चतम सुरक्षा मापदण्डहरूको पालना गरेको छ। यो पूर्वाधारले यस क्षेत्रको ऊर्जा सुरक्षालाई सुदृढ गर्ने मात्र नभई आर्थिक वृद्धि, औद्योगिक विकास र सुधारिएको उपभोक्ताको जीविकोपार्जनका लागि बलियो आधार पनि प्रदान गर्नेछ भन्ने विश्वास निगमले लिएको छ । सुन्दर पर्यटकीय शहर पोखरा र पर्यटकीय हबको रुपमा रहेको गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ । यस प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ।हाल एक दिनमा यस प्रदेशमा तीन लाख ३ लाख २० हजार लिटर डिजेल र एक लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भईरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको व्यहोरा अवगत गराउन चाहान्छु, थानीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*