नेपाल माइक्रो इन्स्योरेन्सको कारोबार आजबाट शुभारम्भ हुँदै
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट कारोबार शुभारम्भ गर्ने भएको छ । पहिलो निर्जिवन लघुबीमा कम्पनीको रुपमा आजबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले भरतपुरमा आयोजित कार्यक्रमका बीचमा उक्त बीमा कम्पनीको सामान्य उद्घाटन गर्नेछन् । कार्यक्रममा बीमा क्षेत्रका अन्य व्यक्तिहरुलाई बोलाइएको छैन ।
आज कारोबार सञ्चालन गरे पश्चात नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी हुनेछ । तर, लघु बीमाको क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो कम्पनी हो । यसअघि गार्डियन माइक्रो लाइफले म्यादी बीमार्फत बीमा सेवा शुभारम्भ गरिसकेको छ ।
चितवन जिल्लाको भरतपुर-१ मा केन्द्रिय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु बीमा व्यवसाय सुरु गर्न लागेको हो ।
नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको सञ्चालक समितिमा चार जना छन् । जसमध्ये, अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मृगेन्द्रनाथ रिमाल छन् भने डिसीईओ अनिल राज गिरी रहेका छन् । सिईओ रिमाल बीमा क्षेत्रमा राम्रो ज्ञान भएका व्यक्ति होइनन् ।