बीमा प्राधिकरणद्धारा पशुधन र माछाबीमालेख जारी, के- के समेटिन्छन् ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई नयाँ बीमालेख जारी गरेको छ। नेपाल बीमा प्राधिकरणले साउन १ गतेदेखि लागु हुने गरि पशुधन र माछाबीमालेख जारी गरेको हो ।प्राधिकरणले आगामी आर्थिक वर्ष अर्थात २०८० साउन १ गतेदेखि लागु हुने गरी उक्त बीमालेख जारी गरेको हो ।
कृषकहरुको माग अनुसार र बजारको अवस्था हेरेर नेपाल बीमा प्राधिकरणले पशुधनमा हुने क्षति विरुद्ध बीमा गर्न पशुधन बीमालेख र माछा पालनमा हुने क्षति विरुद्ध बीमा गर्न माछा बीमालेख जारी गर्ने भएको हो ।
यस बीमा योजनामा अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमीजन्य, चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिको रक्षावरण हुने छ ।
त्यस्तै, कृषकको सुरक्षणको लागि समेत दुई लाख रुपैयाँ बराबरको बीमा गराएको छ । दुबै बीमालेखमा अतिरिक्त सुविधा अन्तर्गत २ लाख सम्मको दुर्घटना बीमा रहेको छ । बीमा अवधिभित्र आत्महत्या बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी हड्डी काम नलाग्ने भएमा, कुनै हात खुट्टा काम नलाग्ने भएमा र दुईवटै आँखाको दृष्टि गुमेमा मात्रै बीमितले यो सुविधा पाउने छन् ।
पशुधन बीमालेखको बीमांक रकम विभिन्न पक्षबाट निर्धारण हुनेछ । प्रति प्रशुधन एक लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा बीमक, बीमित र प्राविधिकको आपसी सहमतिमा प्रचलित बजार मूल्यभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने छ ।
त्यस्तै, एक लाखदेखि माथि दुई लाख रुपैयाँसम्मको बीमांक रकम कायम गर्दा सम्बन्धित स्थानीय तहबाट सिफारिस लिएको हुनुपर्ने छ ।यता माछाको बीमांक निर्धारण कायम गर्दा माछाको बीमांक निर्धारण सूचक बमोजिम उत्पादन मूल्यलाई आधार लिनु पर्ने निर्देशिकामा स्पष्ट पारिएको छ ।पशुधन बीमालेख अनुसार पशुधनको बीमा गर्दा बीमांक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क (प्रिमियम) लाग्ने छ । दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित ५ सय रुपैयाँ लाग्ने छ ।
त्यस्तै, माछा बीमामा तीन प्रतिशत प्रिमियम तोकिएको छ । यो बीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म गर्न सकिने छ । बीमा प्राधिकरणका अनुसार १२ केजीभन्दा माथिको माछाको बीमा हुँदैन । र, पशुधन बीमाको जस्तै माछा बीमामा पनि दुर्घटना बीमा बापत प्रिमियम प्रति बीमित ५ सय रुपैयाँ लाग्ने छ ।