बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले वित्तीय क्षेत्रसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणकी मधेश प्रदेश प्रमुख कुसुम शर्माको सभापतित्वमा कार्यक्रम विरगन्जमा समापन भएको हो ।
कार्यक्रममा सहभागिहरुले बीमा गराउने समयमा सजिलै बीमा गराउने तर बीमा दावी भुक्तानी लिने समयमा धेरै झण्झटिलो रहेको हुँदा यसलाई सहज गराउन माग गरेका मधेस प्रदेश कार्यालयले जनाएको छ । लघु वित्त वित्तिय संस्थाबाट प्रवाह गरिने ऋणको म्यादी बीमा गर्नुपर्ने तर कुनै घटना घटि सो बीमा बापतको रकम लिने समयमा धेरै समस्या हुने गरेको हुँदा यस्ता समस्याहरुको समाधान गर्नका लागि नेपाल बीमा प्राधिकरणले सहजिकरण गरिदिनु पर्ने धारणा व्यक्त गरेका थिए । साथै सहभागिहरुले यदि कुनै बीमितले दुई तीन वटा बीमा कम्पनीहरुबाट बीमा गरेको अवस्थामा बीमा दावी भुक्तानी लिने समयमा कुन बीमा कम्पनीबाट दावी भुक्तानी लिने भन्ने जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रममा बिशेष अतिथिले बीमा कम्पनीले पनि बीमा गर्ने समयमा आफुलाई चाहिने सम्पूर्ण कागजात लिएर मात्र बीमा गर्ने र बीमा गराउने समयमा नै बीमालेखमा उल्लेख गर्नुपर्ने सम्पूर्ण कुराहरु उल्लेख गरेमा तथा बीमितलाई बीमालेखमा भएका कुराहरुलाई प्रष्ट रुपमा बुझाउन सकेमा बीमा दावी भुक्तानी प्रक्रियामा समस्या नहुने बताएका छन् । साथै उनले बैंकबाट प्रवाह हुने ऋणहरुको बीमा गरेर मात्र ऋण लिन पाइने हुँदा त्यस्तो ऋण लिनका लागि आवश्यक कागजात पुर्याउनका लागि मात्र बीमा गर्ने भन्दा पनि सम्पत्तीको सुरक्षा हुने गरि बीमा गराउनका लागि आम सर्वसाधारणहरुलाई जानकारी हुने किसिमका बीमा सचेतनामुलक कार्यक्रमहरु समेत बीमा कम्पनीहरुले सञ्चालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्द्र बैंक विरगञ्ज कार्यालयका प्रमुख अजित रेग्मीले नेपाल राष्द्र बैंक र नेपाल बीमा प्राधिकरण दुवै संस्था नियमनकारी निकायहरु रहेको हुँदा दुई संस्थाहरुबीचमा आवश्यक समन्वय र सहकार्य गरी वित्तिय साक्षरता बढाउने गरी कार्य गर्नुपर्ने बताएका थिए । बीमा कम्पनी र बैंकहरु एक अर्कोबीच परिपुरक हुने हुँदा बीमा एक आपसमा छलफल गरी देखा परेका समस्याहरुलाई समाधान गर्दै जानुपर्ने र बीमा कम्पनीहरुले पनि बीमा प्रतिको विश्वसनियता वृद्धि गर्नका लागि समयमै बीमा दावी भुक्तानी दिनका लागि समेत आग्रह गरेका थिए ।
कार्यक्रमको समापनका क्रममा कार्यक्रमका सभापति कुसुम शर्माले यस्तो अन्तरक्रिया तथा छलफल कार्यक्रमले सरोकारवाला निकायहरुकाबीचमा आवश्यक समन्वय भई समस्याहरुको समाधान गर्न सहयोग पुग्ने बताएकी थिइन् । साथै उनले बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुलाई बैंक मार्फत आउने बीमा व्यवसायहरुमा आगामी दिनमा कुनै पनि किसिमका समस्याहरु नआउने गरी कार्य गर्न र आवश्यक सम्पूर्ण कागजातहरु प्राप्त गरेर मात्र बीमालेख जारी गर्न समेत अनुरोध गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंक विरगञ्ज कार्यालयका प्रमुख अजित रेग्मी, बिशेष अतिथिका रुपमा बैंकर्स गु्रप विरगञ्जका संयोजक रोहिणी आचार्य रहेको सो कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । साथै, कार्यक्रममा विभिन्न बाणिज्य बैंक, विकास बैंक,वित्त कम्पनी, लघु वित्त बित्तिय संस्थाका प्रादेशिक कार्यालयका प्रमुखहरु साथै बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख लगायत अन्य सरोकारवाला व्यक्तिहरु गरी कुल ६० जनाको सहभागीता रहेको थियो ।