नेको इन्स्योरेन्स कम्पनीको सिईओमा अशोक कुमार खड्का पुनः नियुक्त
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सिईओमा अशोक कुमार खड्का पुनः नियुक्त भएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले कम्पनीको सिईओ खड्कालाई थप कार्यकालको लागि स्वीकृती प्रदान गरेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खड्काको कार्यकाल थप्ने निर्णय गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो ।२०७६ साउनमा सीईओमा नियुक्त भएका सीईओ खड्काको पहिलो कार्यकाल आगामी साउनको तेश्रो सातादेखि सकिँदै छ ।
चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।
नेकोमा आउनु अगाडि खड्का माछापुच्छ्रे बैंकमा थिए । महतो समुहले नेको इन्स्योरेन्सको सेयर खरिद गरेपछि उनी माछापुच्छ्रे छाडेर नेको पुगेका थिए ।नेकोले पछिल्लो समय निर्जीवन बीमा व्यवसायमा आक्रामक व्यवसाय विस्तार गरेको छ । जसको श्रेय उनलाई नै जान्छ ।
इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्नु अघि खड्का नेको इन्स्योरेन्सको डेपुटी सीईओ थिए । वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा असिस्टेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे ।
अधिकृतमा काम गर्दै गर्दा सो बैंक छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए ।
स्ट्याण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यसयता उनी डेपुटी सीईओ थिए ।