जीवन बीमा कम्पनीहरु असारे बीमाको चटारोमा व्यस्त, बार्षिक ४० हजार रुपैयाँ प्रिमियममा कर छुट सुविधाको व्यापक प्रचार प्रसार हुँदै
काठमाडौं । दशैं, तिहार जस्ता राष्ट्रिय पर्व पछिको सबैभन्दा धेरै बीमा व्यवसाय हुने मौसम असारलाई मानिन्छ । यही मौकामा जीवन बीमाको व्यवसाय बृद्धि गर्न बीमा कम्पनीहरु सक्रिय रुपमा लागि रहेका छन् । जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य समय आएकोले सबै कम्पनीहरु व्यापक रुपमा जनताको बीचमा परिचालित भएका छन् ।
एक जीवन बीमा कम्पनीका सिईओका अनुसार जीवन बीमा कम्पनीहरुले वर्षभरिमा गर्ने बीमाको मुख्य हिस्सा दशैं तिहार अनि असारको समयमा नै हो । वर्षभरिको आय कर समायोजन गर्न जीवन बीमाको लागि बार्षिक ४० हजार रुपैयाँको प्रिमियम रकममा कर छुट पाइने भएकोले जीवन बीमा कम्पनीहरुले अहिले कर छुटकै विषयलाई मुख्य एजेण्डाको रुपमा बजारिकरण गरिरहका छन् ।
बार्षिक तलवमा स्ल्याब लाग्ने कर्मचारीहरु अहिले जीवन बीमा पोलिसी खरिद गरेको खण्डमा कर समायोजन गर्न पाउने भएकोले पनि असार जीवन बीमा व्यवसायको लागि निकै महत्वपूणर् बनेको हो । चालु आवमा बार्षिक छ लाख दम्पत्ति र बार्षिक पाँच लाख अविवाहितले सामाजिक सुरक्षा कर १ प्रतिशत मात्रै तिरे पुग्नेछ । तर, उक्त सीमा भन्दा बढि तलव पाउने कर्मचारीहरुले तहगत रुपमा कूल बार्षिक आयको सीमाभन्दा माथिको १० देखि ३० प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ ।
जीवन बीमा गरेको रहेछ भने बार्षिक ४० हजार रुपैयाँसम्मको थप आयमा करदाताले छुट पाउने हुँदा असारमा जीवन बीमा कम्पनी र बीमा अभिकर्ता तथा एजेन्सीहरु व्यापक रुपमा दौडधुपमा लागेका छन् ।
चालु आवको जेठ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कमा बृद्धि भएको छ । अब असार महिनामा पनि थप बृद्धि हुने अपेक्षा गरिएको छ । यही बेला जीवन बीमा कम्पनीहरुले विभिन्न माध्यमहरुबाट व्यापक प्रचार प्रसार गर्दै असारे चटोरोमा लक्ष्य पुर्याउन सक्रिय भएर अघि बढेका छन् ।