बैशाखको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आम्दानी १३ प्रतिशतले बढ्यो, अर्थतन्त्रमा सुधार भएको अनुमान
काठमाडौं । गत बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क तथा नयाँ व्यवसाय १२.९४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो महिनामा २३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा २६ अर्ब २३ करोड रुपैयाँ कमाउन सफल भएका छन् ।
विगत झण्डै डेढ वर्षदेखि सुस्त अर्थतन्त्रको मारमा परेको जीवन बीमा व्यवसाय जेठ महिनामा सुधार भएसँगै अर्थतन्त्रमा सुधार आएको रुपमा हेर्न सकिन्छ । जीवन बीमामा निकै पछि असर देखिने भएपनि सुध्रिएको अर्थतन्त्रको असर जीवन बीमा क्षेत्रमा छिट्टै परेको देखिएको हो ।
बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत महिनाको तुलनामा १५ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटाको प्रथम बीमा शुल्क बृद्धि भएको छ भने दुई कम्पनीको मात्रै प्रथम बीमाशुल्क घटेको छ ।
समिक्षा अवधिसम्ममा गत महिनाको तुलनामा रिलायबल नेपाल लाइफको प्रथम बीमा शुल्क आर्जन सर्वाधिक बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको प्रथम बीमाशूल्क ६५.०६ प्रतिशतले बढेको छ ।
मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको प्रथम बीमाशुल्क आर्जन दोस्रो नम्बरमा रहेको छ । कम्पनीले जेठ महिनामा ७६.६६ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
तेस्रो नम्बरमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । गत महिनाको तुलनामा कम्पनीको प्रथम बीमा शूल्क ५२ प्रतिशतले बढेको छ । कम्पनीले जेठ महिनामा १३ करोड ८१ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिसम्ममा सूूर्यज्योति लाइफ, नेपाल लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ, महालक्ष्मी लाइफ, हिमालयन लाइफ र सिटिजन लाइफलको बीमा ब्यवसाय गत महिनाको तुलनामा बढेको छ ।
यसका साथै, गत महिनाको तूलनामा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको प्रथम बीमाशुल्क सर्वाधिक घटेको छ । संस्थानको प्रथम बीमाशुल्क ८७ दशमलव ३२ प्रतिशतले घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित रहेको छ ।
त्यस्तै, समिक्षा अवधिमा भारतिय लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रथम बीमाशुल्क गत महिनाको तुलनामा घटेको छ । कम्पनीको प्रथम बीमाशुल्क २ दशमलव ५२ प्रतिशतले घटेर १७ करोड ६६ लाख रुपैयाँमा सीमित रहेको छ ।
प्रथम बीमाशुल्कका आधारमा
गत महिना अर्थात बैशाखको तुलनामा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले जेठ महिनामा ६४ करोड ३७ लाख कुल ५ अर्व १३ करोड ६१ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
दोस्रो नम्बरमा रहेको नेशनल लाइफले जेठ महिनामा ३४ करोड ३० लाख रुपैयाँ बराबर प्रथम बीमाशुल्क आर्जन गरेको छ । यसका साथै, सूूर्यज्योति लाइफले १८ करोड ४९ लाख रुपैयाँ जेठ महिनामा प्रथम बीमाशूल्क बापत कमाएको छ ।
त्यस्तै, जेठ महिनामा सानिमा रिलायन्स लाइफले १८ करोड ११ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १७ करोड ६६ लाख रुपैयाँ, सिटिजन लाइफले १६ करोड ८६ लाख रुपैयाँ, सन नेपाल लाइफले १४ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यी बाहेकका अन्य कम्पनीको प्रथम बीमाशूल्क आर्जन १४ करोड रुपैयाँ भन्दा कम रहेको प्राधिकरणले प्रकाशित गरेको विवरणले देखाएको छ ।