स्ट्यान्डर्ड चार्टर्ड बैंकका कर्मचारीका बालबालिकालाई ‘डे केयर’ सुविधा

१२ असार २०८०, मंगलवार १६:३४

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैंकका कर्मचारीका बालबालिकाहरुलाई ‘डे केयर’ सुविधा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको हो ।

डे केयर सुविधाको उद्घाटन असार ११ गते कार्यक्रमकी प्रमुख अतिथि नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीईओ अनिर्वाण घोष दास्तिदारले गरेका छन् ।

यो सुविधा बैंकले सन् २०१३ बाट सुरु गरेको थियो। कोभिड महामारीका बेला अस्थायी रुपमा बन्द गरिएको यो सुविधा पुनः सुचारु गरिएको हो ।

विशेषगरी व्यावसायिक रुपमा काम गर्ने आमाहरुका लागि बैंकमा सहयोगी र समावेशी वातावरण सिर्जना गर्न डे केयर सुविधा ल्याइएको बैंकले जनाएको छ। विशेषगरी कर्मचारीहरुको समयको बचत तथा ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकाका लागि सही हेरचाह खोज्ने तनाव कम गर्न सहयोग पुग्ने उद्देश्यले बैंकले यो सुविधा ल्याएको हो।

क्रेच स्थापनादेखि लिएर मर्मत खर्च तथा मासिक खर्च बैंकले नै व्यहोर्नेछ। यो सुविधा नयाँ तरिकाले काम गर्ने वातावरण सिर्जना गर्न र उत्पादनशील काम गर्ने अभिभावकका लागि एउटा महत्वपूर्ण कदम रहेको बैंकको विश्वास छ।

विशेष महिला कर्मचारीलाई आफ्नो व्यावसायिक यात्रालाई निरन्तरता दिन यस किसिमको सुविधा सञ्चालन गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमै पहिलो बैंक रहेको छ।

कार्यवाहक गभर्नर तिम्सिनाले कर्मचारीलाई उत्प्रेरित गर्न वर्कफोर्समा महिलालाई सशक्त बनाउन यस किसिमको सुविधा निकै महत्वपूर्ण रहेको बताइन्। उनले बैंकका कर्मचारीसँग साक्षात्कार गर्दै महिला कर्मचारीहरुले भोग्नुपरेको थुप्रै चुनौतीका विषयमा चर्चा गरेकी थिइन्।

बैंकका सीई दास्तिदारले आफ्ना बालबालिकासँग नजिक हुन सक्ने हिसाबले काम गर्ने अभिभावकहरुका लागि ल्याइएको यो सुविधाले कार्यालयमा काम गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए। ‘हामीले चाहेको परिवर्तन तब सम्भव हुन्छ जब हामी कर्मचारीहरु कायम राख्न र उनीहरुको कल्याणमा ध्यान केन्द्रित गर्छौं’, उनले भने।

बैंकमा सञ्चालनमा ल्याइएको डे केयर सुविधा सबै कार्यदिनहरुमा खुला रहनेछ। जहाँ बालबालिकाहरु सुरक्षित, प्रगतिशील र रमाइलो वातावरणमा विभिन्न गतिविधिमा संलग्न हुन पाउनेछन्। त्यहाँ प्रत्येक बालबालिकालाई व्यक्तिगत रुपमा ध्यान दिइनेछ। उनीहरुलाई ग्याजेटहरुबाट टाढा रहन र खेल तथा अन्य गतिविधिमार्फत एक–अर्कासँग थप अन्तर्क्रिरया गरी स्वतन्त्र र अनुशासित बनाउन जोड दिइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*