बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा नेपाल प्रहरीसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले नेपालप्रहरीसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम विरगञ्जमा सम्पन्न गर्यो । उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको बिरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमापर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थिति रहेको थियो । बिशेष अतिथिका रुपमा प्रहरी नायब उपरीक्षक दिपक गिरीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका हुन् । उक्त कार्यक्रममा स्वागत मन्तव्य बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सीनाले गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अन्तर्गतका विभिन्न इलाका, वडा प्रहरी कार्यालय र ट्राफिक कार्यालयबाट साथै बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख, बीमा सर्भेयर लगायत अन्य सरोकारवाला व्यक्तिहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बीमा, बीमा प्राधिकरण र बीमाका सम्बन्धमा नेपाल प्रहरीको भुमिका साथै नेपाल प्रहरीसँग बीमा प्राधिकरणले गरेका अपेक्षाहरुको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा बीमा कम्पनीहरुले बीमा गरिएको सम्पत्ती तथा मानव जीवनमा क्षति भएमा सोको क्षतिपूर्तीका बीमा दावी भुक्तानी लिन आवश्यक कागजात निम्न अनुसारको आवश्यक पर्दछ भनि लिखित रुपमा नै दिनुपर्ने जसले गर्दा प्रहरी प्रतिवेदन पनि समयमै दिन सजिलो हुने र पिडितले बीमा दावी पनि समयमै पाउन सक्ने अवस्था रहने कुरा राखेका थिए ।
कार्यक्रमका बिशेष अतिथि प्रहरी नायब उपरीक्षकले आफ्नो भनाई राख्दै सवारी साधनको चेकजाँच चालक इजाजत पत्र, ब्लू बुक चेक गर्नुका साथै सवारी साधनको बीमा भएको छ छैन सो पनि जाँचगरिने कुरा राखेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले सबैले आफ्नो दायित्व पुरा गर्ने गरि कार्य गर्ने हो भने कुनै समस्या नरहने साथै बीमा दावी भुक्तानी दिने क्रममा बिमितलाई आहात होइन राहत हुने गरि छिटो छरितो रुपमा समयमै बीमा दावी भुक्तानी गरि बीमा प्रतिको विश्वसनियता कायम गर्नुपर्ने भनाई राखेका थिए ।
प्रमुख अतिथिले बीमा प्राधिकरणले यस्तो कार्यक्रम गरेर समाजमा बीमासँग जोडिएर हुने विभिन्न घटनाहरुलाई निरुत्साहित गर्न पनि सहयोग हुने हुँदा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रमको समापनको क्रममा कार्यक्रमका सभापति प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले यस्तो अन्तरक्रिया तथा छलफल कार्यक्रमले सरोकारवाला निकायहरुका विचमा आवश्यक समन्वय भई समस्याहरुको समाधान गर्न सहयोग पुग्ने भनाई राखेका थिए ।
साथै बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरुलाई बिमितबाट बीमा दावी भुक्तानी लिनका लागि कुनै पनि कागजात माग गर्दै गर्दा लिखित रुपमा पत्र दिनका लागि समेत अनुरोध गरेका थिए ।