आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन?
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज चौथो दिनसम्ममा १९ करोड ६३ लाख १० हजार ७ सय ३३ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज १० हजार ५६८ जना आवेदकले ८ लाख २८ हजार६ सय ३० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले पहिलो चरणमा असार १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि आइपिओ निष्कासन गरेको थियो। आइपीओ निष्कासन गरेको ४ दिनको छोटो अवधिमै आधा भन्दा बढी आइपीओमा आवेदन परिसकेको छ। वेदेशिक रोजगारीमा रहेका नेपालीहरुले अझै ११ दिन आइपीओमा आवेदन दिन सक्ने हुनाले आइपीओमा ओभर सब्सक्राइब हुने सजिलै अनुमान गर्न सकिन्।
कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६।९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६।९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस सेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्बभन्दा माथि रकम रहेको छ । इन्स्योरेन्सका अनुसार प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस सेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस सेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ ।