नाडा र सीप परियोजनाबीच तालिम संचालनको लागि सम्झौता

३२ जेष्ठ २०८०, बिहीबार १३:२४

काठमाण्डौं । नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि नाडा अटोमोबाइल्स एसोसिएन र सीप परियोजनाबीच सम्झौता भएको छ ।

बुधबारको दिन नाडाको सचिवालयमा नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका उच्च अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा नाडाका अध्यक्ष धु्रव थापा र सी परियोजनाका तर्फबाट संस्थाका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । त्यसैगरी उक्त कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरुसमेत तयार गरिएकोे छ ।

नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी र प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र सीपयुक्त बनाउनका लागि यो सझौतापत्रमा हस्ताक्षर गरिएको हो ।

यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिनेछ । जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफ्ना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिससमेत गर्नेछ। जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ ।

नाडाले आफ्नो इतिहासमा पहिलोपटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्य राखेको छ। यस किसिमको तालिमले अटोमोबाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ। यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालयसमेतको व्यवस्था गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*