नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म थप, अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म पुनः दर्ता गर्नुपर्ने

३१ जेष्ठ २०८०, बुधबार १४:४६

काठमाडौं । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको छ । तर टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म ६० दिनको अवधिमा रिरजिष्ट्रेशन गर्नुपर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

आज डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालसहित एल साल्भाडोर, होन्डुरस र निकारागुआका लागि टीपीएस खारेज गर्दे अघिल्लो प्रशासनको निर्णय उल्टाउँदै सन् २०२३ को डिसेम्बर २५ बाट टीपीएसको अवधि १८ महिना थप्ने घोषणा गरेको हो । यस अगाडि टीपीएसका कागजातको अवधि सन् २०२४ को जुन ३० सम्म स्वत थपिएपनि आफैमा टीपीएसको अवधि भने थपिएको थिएन ।

टीपीएसको विस्तार मार्फत नेपाल लगायतका हालका लाभार्थीहरूलाई निरन्तर सुरक्षा प्रदान गर्न सक्षम हुने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयोर्कासले बताएका छन् । मानवीय राहतको यो अस्थायी रूप मार्फत टीपीएसवाहकलाई सहयोग प्रदान गर्न जारी राख्ने उनले बताएका छन् ।

यसबारे फेडरल रजिष्टरमा चाँडै सुचना प्रकाशित हुनेछ । उक्त सुचनाले योग्यता, मापदण्ड, समयरेखा, र वर्तमान लाभार्थीहरूलाई टीपीएसको लागि पुन दर्ता गर्न र तिनीहरूको वर्क परमिट नवीकरण गर्न आवश्यक प्रक्रियाहरू व्याख्या गर्नेछ ।

सूचना प्रकाशित भएपछि नेपाली टीपीएसवाहकहरु रि रजिष्ट्रर गर्न र सन् २०२५ को जुन २४ सम्म टीपीएस कायम राख्न सक्षम हुनेछन्। जुन २४, २०१५ भन्दा पछाडि अमेरिका आएका नेपालीहरु भने टीपीएसका लागि योग्य हुनेछैनन् । उक्त मितिभन्दा अगाडि आएकाहरु र निरन्तर अमेरिकामा बसोबास गरिरहेकाहरुमात्र टीपीएसका लागि योग्य छन् । अमेरिकामा नेपाली टीपीएसवाहकहरु झण्डै १४ हजार ५ सय रहेका छन् ।  खसोखास अमेरिका ब्यूरोबाट साभार गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*