बजेटका कारण सत्ता गठबन्धनमा किचलो, सरकार ढल्नै लागेको हो त ?

३१ जेष्ठ २०८०, बुधबार १४:२७

समाचार टिप्पणी
काठमाडौं । यतिबेला नेपाली कांग्रेसका सभापति श्रीमती आरजु राणासहित सिंगापुर भ्रमणमा छन् । गत जेठ १५ गते संसदमा प्रस्तुत बजेटमाथि सत्ता गठबन्धनले नै गम्भिर आपत्ति जनाउँदै हुबहु पास नहुने बताइसकेको अवस्था अर्कोतिर छ ।

माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को मुख्य साझेदार दल एकीकृत समाजवादी पार्टी दुई विपरित दिशातर्फ हिडेको अवस्था विद्यमान छ । यही सन्दर्भमा सरकार ढल्न लागेको हो कि ? भन्ने आशंकाहरु बजारमा सुनिएका छन् ।

सरकार ढाल्ने षडयन्त्र बनाउन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा सिंगापुर जाने दिन प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारवाही गर्दा सत्ता छोड्नुपरे पनि तयार रहेको अभिव्यक्ति दिएका छन् । उल्लेखित सन्दर्भहरुले यतिबेला सरकार कठिन परिस्थितिमा पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय अपराधीहरुको सेटिङमा पुगेकी आरजु राणाले भुटानी शरणार्थी प्रकरण र अन्य केही आरजुले बोक्दै आएकी चासोहरुको सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले दृढतापूर्वक कदम चालेपछि सरकार संकटमा पर्न लागेको हो कि भन्ने आभास उत्पन्न भएको छ ।

प्रधानमन्त्री प्रचण्ड आफैले हिजोको मन्त्रिपरिषदको बैठकमा बजेट संशोधन गर्ने सम्भावनाका बारेमा छलफल सुरु गरेपछि कांग्रेसले केही अप्ठेरो महसुस गरेको अवस्था विद्यमान रहेको छ । चरम राजनीतिक अस्थिरताको बीचमा सरकार फेरिने कुरा नेपालमा सामान्य हो । यसअघि प्रचण्ड दुई पटक प्रधानमन्त्री हुँदा एक पटक नौ महिना र अर्को पटक छ महिनामै सरकार छोडेका थिए ।

 

यस पटक आम निर्वाचन लगत्तै प्रधानमन्त्री बनेका प्रचण्डले एमालेको समर्थनलाई लत्याएर कांग्रेससँग गठबन्धन गर्न पुगेको अवस्था छ । देश आर्थिक संकटमा फस्दै गएको, मुलुकमा संघीयता खारेज गर्नुपर्ने माग चर्को रुपमा उठिरहेको र चालु खर्च धान्नै नसक्ने अवस्थामा पुगेको सन्दर्भमा प्रचण्ड आफैले पनि सरकारलाई भन्दा पनि जनताको दैनिक समस्या, भ्रष्टाचार मुक्त समाज र ठूलो घोटाला काण्डहरुको निष्पक्ष छानविन र दोषीलाई कठघरामा उभ्याउने विषयलाई केन्द्रमा राखेर काम गर्दै आएका छन् । नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड नै जेलमा कोचिएका छन् भने आरजु राणा ढिलो चाँडो जेल जाने सम्भावना बढ्दै गएको छ ।
एकीकृत समाजवादी बजेट पास गर्न नदिने अडान लिएर कांग्रेसमाथि तिखो प्रहार सुरु गरेको छ । तर, त्यसअघि नेपाली कांग्रेसले वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने योजना अघि सारेपछि एकीकृत समाजवादी नयाँ मुभ गरेको देखिन्छ । यही बेला समाजवादी मोर्चा बनाउने चर्चा समेत तीव्र रुपमा चल्दै गएको छ । आगामी असार १ गते चीनमा उपचाररत माओवादी नेता वर्षमान पुन नेपाल आउँदैछन् ।

बजेटमा सरकारले केही नीतिगत भ्रष्टाचारजन्य कुराहरु समावेश गरेर आरजु राणाको सेटिङ घुसेपछि गठबन्धनभित्रै अर्को तमासा सुरु भएको छ । यसले गर्दा तत्कालै सरकार नढले पनि राजनीतिक अस्थिरता निम्त्याउन भने भूमिका खेल्ने देखिएको छ । यद्यपि प्रधानमन्त्री प्रचण्ड भ्रष्टाचार र सेटिङका विरुद्धमा चट्टानी अडान कायमै रहेकोले बजेटमा रहेका सेटिङहरु हटाएरै छोड्ने अडानमा रहेकोले तत्काल विवाद मत्थर हुने सम्भावना भने देखिदैन ।

सरकार ढल्ने विषय तत्काल गौण बनेको छ । नयाँ सरकार बनाउन समाजवादी वा माओवादीकै आवश्यकता पर्ने र कांग्रेसको नेतृत्व एमालेले स्वीकार नगर्ने सन्दर्भका बीचमा वर्तमान प्रचण्ड नेतृत्वको सरकारको विकल्पमा कांग्रेस गइनसकेको सो पार्टीका उच्च तहका अधिकारी नै बताउँछन् । यद्यपि सभापति देउवाको ‘सिंगापुर ब्लाकमेलिङ’ ले केही तलमाथि हुनसक्ने कुरालाई नकार्न सकिदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*