बेइमानी लिडरहरुको कारण युनिटी–लाइफ इन्टरनेशनलको शाख गिरेको अध्यक्ष गुरुङ्गको आरोप
काठमाडौं । विगत १२ वर्षदेखि मुद्दामा मुछिएको युनिटी–लाइफ इन्टरनेशनल लिमिटेडले समाजमा गिरेको शाख र इज्जत फर्काउने प्रयासमा रहेको बताएको छ । युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष प्रसाद गुरुङ्गले एक विज्ञप्ति जारी गर्दै केही लिडरहरुका कारण सिँगो संस्थाकै शाख गिरेको बताएका छन् ।
२०६७ सालमा संस्थाको अनुसन्धानका लागि भनि १२ जना संचालक र १०० जना टप लिडर गरी कुल ११२ जना विरुद्ध मुद्दा दायर भएको थियो । १२ वर्ष पनि अदालतबाट कुनै सुनुवाई नभएको वा टुङ्गो नलाग्दा आज संस्थाको प्रतिष्ठामाथि धक्का पुगेको अध्यक्ष गुरुङ्गको भनाई छ ।
मुद्दाको टुंगो नलाग्दासम्म अदालतबाट रोक्का रहेको सम्पूर्ण चल–अचल सम्पत्ति रोक्का नै रहेको छ । संस्थाका अध्यक्ष गुरुङ्गका अनुसार युनिटीका केही लिडरहरुले अन्य कम्पनीहरुमा फेरी डाईरेक्ट सेलिङ सम्बन्धी काम गर्न थालेका छन् । यता युनिटीका कारण काम गर्न असहज भएको लिडरहरुले समेत आरोप लगाउँदै आएका छन् ।
साथै लिडरहरुले युनिटीसमक्ष मोटो रकम समेत माग गर्ने र नदिदा युनिटी विरुद्ध नै जाइलाग्ने गरेको युनिटीका अध्यक्ष गुरुङ्गले बताएका छन् । साथै उक्त लिडरहरुले केही सञ्चारमाध्यमहरुमा समेत युनिटी विरुद्धका भ्रामक कुराहरु भन्ने गरेको अध्यक्ष गुरुङ्गले बताए ।
अध्यक्ष गुरुङ्गले केही लिडरहरुका कारण सिंगो युनिटीको शाखमाथि नै प्रश्न उठेको बताएका छन् । उनले भने, ‘मुद्दाको अन्तिम किनारा लागेपछि फेरी एक पटक हामी एकतामा बाँधिने छौं ।’ उनले थपे, ‘हाम्रो अधुरो लक्ष्य र सपनाहरु पुरा गर्नेछौं, समाजमा गिरेको साख र इज्जत फर्काउने छौं ।’