बीमा कम्पनीहरुको लेखापरीक्षण प्रतिवेदनमा प्राधिकरणको निर्देशन अनुसारको कार्य गरे वा नगरेको विवरण खुलाउनुपर्ने

२४ जेष्ठ २०८०, बुधबार १३:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० तयार पारेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८० को मस्यौदामा अब बीमा कम्पनीहरुले प्रत्येक तीन–तीन महिनामा वित्तीय विवरण तयार पार्दा प्राधिकरणको निर्देशन अनुरुप कार्य गरे वा नगरेको विवरण समेत खुलाउनुपर्नेछ ।

लेखापरीक्षकले बीमा कम्पनीको लेखापरीक्षण प्रतिवेदन तयार पर्दा कम्पनीको सम्पत्ति दायित्व अनुपातमा तोकिए बमोजिम भए वा नभएको वा बीमा कम्पनीको बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष अनिवार्य रुपमा वित्तीय विवरण समावेश गर्नुपर्नेछ । साथै बीमा कम्पनीले अन्य बीमा ब्यवसाय वा कारोबार गरे वा नगरेको विवरण, बीमकले बीमितको हित प्रतिकुल कुनै कार्य गरे वा नगरेको विवरण समेत उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै, प्राधिकरणको निर्देशनअनुसार कार्य गरे वा नगरेको, स्वीकृत बीमालेख बाहेकका अन्य बीमालेख जारी गरे वा नगरेको, शेयरधनीलाई जानकारी गराउनुपर्ने वित्तीय वा अन्य विषयमा शेयरधनीलाई जानकारी गराए वा नगराएको, बीमा कम्पनीहरुले लिएको दीर्घकालिन दायित्वको अनुपातमा त्यस्तो जायजेथाबाट दायित्व निर्वाह गर्न बीमक सक्षम रहेको वा नरहेको, बीमा कम्पनीको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी भए वा नभएको विवरण समेत लेखापरीक्षण प्रतिवेदनमा खुलाउनुपर्नेछ ।

यसका साथै ऐन, नियम, अन्य प्रचलित कानून, प्राधिकरणले समय–समयमा जारी गरेको बीमा सम्बन्धी विनिमय, निर्देशन र मार्गदर्शन पालना गरे नगरेको, लेखापरीक्षण प्रतिवेदनमा खुलाउनुपर्ने भनि प्राधिकरणले समय–समयमा तोकिदिएका अन्य विषयहरु समेत खुलाउनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*