एक वर्षमा बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घट्यो
काठमाडौं । एक वर्षको अन्तरालमा बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घटेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार यस अवधिसम्म आइपुग्दा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय ४३३ वटा घटेका हुन् ।
गत वर्षको वैशाख मसान्तसम्म ३ हजार ३४८ वटा रहेको बीमा कम्पनीको शाखा यस अवधिसम्म आइपुग्दा १२.९३ प्रतिशतले घटेर २ हजार ९१३ वटामा कायम हुन पुगेको छ । नेपाल बीमा प्राधिकरणद्वारा यस वर्ष बीमा क्षेत्रमा बीमा कम्पनीहरुलाई फोर्स मर्जर नीति जारी भएसँगै बीमा कम्पनीहरुको शाखा कार्यालय स्वतः घट्न पुगेको हो ।
बीमा कम्पनीहरु एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेसँगै एकै स्थानमा भएका शाखा कार्यालयसमेत मर्ज गराई घटाएका हुन् । चालु आर्थिक वर्ष २०७९।८० भित्र जीवन बीमातर्फ सातवटा जीवन बीमा कम्पनी मर्जरमा सामेल भएका छन् । जसमा साविक ज्योति लाइफ र सूर्या लाइफ मर्ज भई ‘सूर्यज्योति लाइफ’, साविक युनियन, प्राइम र गुराँस लाइफ एकआपसमा मर्ज भई ‘हिमालयन लाइफ’ र साविक सानिमा र रिलायन्स लाइफ मर्ज भई ‘सानिमा रिलायन्स लाइफ’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
त्यस्तै, प्राधिकरणले ल्याएको मर्जर नीति निर्जीवन बीमा क्षेत्रमा बढी लागू भएको छ । चालु आवभित्र मात्रै १२ वटा निर्जीवन बीमा कम्पनी मर्जरमा सामेल भएका छन् । जसमा साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई ‘सानिमा जिआइसी’, साविक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भई ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’, साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल मर्ज भई ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स’, साविक युनाइेट र अजोड एकआपसमा मर्ज भई ‘युनाइेटड अजोड इन्स्योरेन्स’, साविक सिद्धार्थ र प्रिमियर मर्ज भई ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’, साविक आइएमई जनरल र प्रुडेन्सियल मर्ज भई ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।
बीमा कम्पनीहरु धमाधम मर्ज हुन थालेपछि बीमा कम्पनीहरुको शाखा कार्यालय वैशाख मसान्तसम्म आइपुग्दा स्वतः घट्न पुगेको हो । साथै यता बीमा कम्पनीहरु मर्ज हुन थालेपछि कर्मचारीहरुका लागि अवकाश योजना ल्याएसँगै कर्मचारीहरुको संख्या समेत यस अवधिसम्म ४.९६ प्रतिशतले घट्न पुगेको छ ।
गत वर्षको यस अवधिसम्म ११ हजार ८७५ रहेको कर्मचारीको संख्या यस अवधिसम्म घटेर ११ हजार २८६ जनामा कायम हुन पुगेको छ । एक वर्षको अन्तरालमा बीमाकर्मीहरुको संख्या ५८९ जना घट्न पुगेको हो ।